मेयर–उपमेरको विवादले दिवा खाजा कार्यक्रम प्रभावित

समाचार

1/16/2020

रौतहट, २ माघ । रौतहटको फतुवा विजयपुर नगरपालिकाका प्रमुख र उपप्रमुखको विवादका कारण कर्मचारी र बालबालिकाले सास्ती खेप्नुपरेको छ ।

नगरप्रमुख गोपालप्रसाद यादव र उपप्रमुख कान्तिदेवी महतोबीचको विवादका कारण असार मसान्तभित्र सम्पन्न हुनुपर्ने तेस्रो नगरसभा माघको पहिलो सातासम्म पनि बस्न सकेको छैन ।

नगरसभाबाट बजेट पारित भइ कोष तथा लेखा नियन्त्रण कार्यालय गौरसम्म नपुगेका कारण यस आर्थिक वर्षको गत साउन महिनादेखि नगरक्षेत्र अन्तर्गतका शिक्षक तथा कर्मचारीले तलब पाउन सकेका छैनन् । रकम निकासा नभएकै कारण फतुआ विजयपुरअन्तर्गत डेढ दर्जन विद्यालयमा बालबालिकाहरु ‘दिवा खाजा’बाट समेत बञ्चित भएका छन् ।

नगरपालिकामा रहेका तीन मावि, सात निमावि, १९ प्रावि र एक मदरसाका शिक्षक, स्वास्थ्य, कृषि, करार सेवाका कर्मचारीले साउनदेखि हालसम्म तलब पाउन नसकेको मावि दुधिअवाका प्रधानाध्यापक रवीन्द्रप्रसाद साहले बताए ।

समयमा तलब नपाउँदा कतिपय शिक्षकले अध्यापन गराउन समेत आलटाल गरिरहेका छन् ।

तेस्रो नगरसभा समयमा नहुँदा नगरक्षेत्र अन्तर्गत ३० वटा विद्यालयका झण्डै दुईहजार ६ सय बालबालिका प्रभावित बनेका छन् भने ३० वटा विद्यालयका एकसय ८६ जना शिक्षकले गत साउनदेखि हालसम्मको तलब खान नसकेको निमित्त शिक्षा संयोजक सुवोध यादवले बताए ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ