जनकपुर, १५ बैशाख । धनुषामा आइतबार बिहान आएको भीषण हावाहुरीले वितण्डा मच्चाएको छ । हावाहुरीले जिल्लाको विभिन्न स्थानमा बिजुलीको पोल, टहरा, रुख भत्काएको छ । यस्तै ग्रामिण भेगमा बालिनालीलाई समेत क्षति पु¥याएको छ । हावाहुरीका कारण धनुषाको नगराईन नगरपालिका ५ का ६० वर्षीय रामपती मुखिया र ६५ वर्षीय महाबिर दास तत्माको मृत्यु भएको हो । स्थानीयका अनुसार उनीहरुको मृत्यु हावाहुरीको आवाजको डरले भएको हो ।
हावाहुरीले एकसय भन्दा बढी बिजुलीको पोल ढालेको छ । विद्युत प्राधिकरण जनकपुर वितरण केन्द्र अन्तर्गत ५० वटा बिजुलीको पोलसहित ३ वटा ट्रान्सफर्मरसमेत हावाहुरीले ढालेको प्राधिकरण प्रमुख सूर्यनारायण मण्डलले बताए ।
यस्तै वितरण केन्द्र सखुवा महेन्द्रनगर अन्तर्गत ३५ भन्दा बढी पोल ढालेको प्रमुख राजकुमार रमणले जानकारी दिए । यस्तै धनुषाको पूर्वी क्षेत्र युदुकोहा वितरण केन्द्र अन्तर्गत २५ भन्दा बढी बिजुलीको पोल हावाहुरीले ढालेको छ । यदुकोहा वितरण केन्द्रका अनुसार मुजेलियाबाट जडान भएको ३३ केभी विद्युत प्रशारण लाइनमाथि तीनवटा रुख ढलेको छ ।
हावाहुरीले धेरै ठाउँहरुमा घर टहराहरु छिटफुट रुपमा भत्काए पनि पूर्ण विवरण आइनसकेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए ।
तपाईको प्रतिक्रिया