वीरगन्ज, २ पुस । वीरगन्जको वडा नम्बर १२ मा जनता मेयर आमने सामने कार्यक्रम सम्पन्न भएको छ ।
वडावासीको समस्या र गुनासो तथा रायसुझाव बुझ्नका लागि वीरगन्जको मुर्लीमा सोमबार बिहान कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा नगर प्रमुख विजय कुमार सरावगी समक्ष वडाका अगुवा, विभिन्न दलका प्रतिनिधि लगायतका स्थानीयले महानगरपालिका बारेका विभिन्न समस्या तथा गुनासाहरु राखेका थिए ।
कार्यक्रममा वडामा रहेको नेशनल ट्रेडिङ्गको उत्तर साइडमा रहेकोे सडकमा लाग्ने गरेको जाम, सडकको समस्या, वडा समितिको आफ्नै भवन, बर्सातमा हुने गरेको डुबान लगायतका समस्याहरुको बारेमा ध्यानाकर्षण गराएका थिए ।
वडा सदस्य हकहित संरक्षण मञ्चले आयोजना गरेको उक्त कार्यक्रममा बोल्दै नगरप्रमुख सरावगीले वीरगन्जको मुर्ली चौकदेखि आयल निगमसम्मको बाटो चौडा गरि निर्माण गर्ने कार्यसहमतिमा पुगिसकेको बताए ।
उनले महानगरपालिकाले करलाई वैज्ञानिक तरिकाले लागू गर्नका लागि कर निर्धारण आयोग गठन गरिएको बताउँदै आयोगको प्रतिवेदन अनुसार लागु गरिने बताए ।
नगर प्रमुख सरावगीले आगामी १ जनवरीदेखि वीरगन्जलाई हर्न निषेधित क्षेत्र घोषणा गरिएको बताउँदै अब धर्मको नाउँमा ध्वनी प्रदूषण फैलाउनेलाई कडा भन्दा कडा कारबाही गर्ने बताए ।
वडा सदस्य रमेश साह कानुको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य वडा अध्यक्ष रामदरश कुशवाहाले गरेका थिए ।
कार्यक्रममा नगर प्रमुखका सल्लाहकार मुकेश द्विवेदी, प्रेस सल्लहकार गोविन्द देवकोटा, वडा सदस्य सुराती देवी, एमालेका नेता शम्भु गुप्ता लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन सुरज कुमार कुर्मीले गरेका थिए ।
तपाईको प्रतिक्रिया