धार्मिक पर्यटकीय स्थलहरुको संरक्षण आवश्यक : सांसद यादव

समाचार

4/8/2019

वीरगंज, २५ चैत । संघीय समाजवादी फोरम नेपालका पर्सा जिल्ला अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य सांसद प्रदिप यादवले धार्मिक पर्यटकीय स्थलहरुको संरक्षण आवश्यक रहेको बताएका छन् ।

वीरगंज महानगरपालिका वडा नम्बर १६ ईनर्वा गाउँमा रहेको पर्यटकीयस्थल तथा धार्मिक स्थलको रुपमा रहेको हनुमान मन्दिर प्रांगणको कम्पाउण्ड वालको विधिवत् रुपमा शिलान्यास गर्दै सांसद यादवले धार्मिक स्थलको संरक्षण र उत्थानमा आफू तत्पर रहेको बताए ।

आफ्नो संसदीय क्षेत्र लगायत पर्साको विभिन्न धार्मिक पर्यटकीय स्थलहरुको जिर्णोद्धार र उत्थानका लागि संघीय सरकारको विभिन्न सरोकारवाला निकायमा पहल गरेको समेत बताए ।

आर्थिक सामाजिक रुपान्तरणका लागि पर्यटकीय र धार्मिक स्थलको संरक्षण पनि आवश्यक भएको सांसद यादवले बताए ।

कार्यक्रममा सांसद यादवलाई इनर्वाका स्थानीयहरुले यस गाउँमा एउटा धर्मशाला निर्माण गर्न अति आवश्यक भएकोले धर्मशाला निर्माणमा सहयोग गर्न आग्रह गरेकोमा सांसद यादवले अगामी आर्थिक वर्षको बजेटबाट २० लाख रुपैयाँ छुट्याएर धर्मशाला निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत १० लाखको लागतमा निर्माण हुन लागेको हो ।

कार्यक्रम वडा नम्बर १६ का वडा अध्यक्ष श्यामबाबु चौरसीयाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा संघीय समाजवादी फोरमका नेता लालदेव यादव, फरिद आलम लगायत स्थानीयको उल्लेखनीय सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ