महोत्तरी, ७ बैशाख । महोत्तरी जिल्ला सदरमुकाममा रहेको पुस्तक व्यवसायीहरुले नीजि विद्यालयले संचालन गरेको सिन्डिकेटलाई समर्थन गर्दै राजश्व छलिलाई प्रोत्साहन गरेको छ ।
शिक्षामन्त्री गिरीराजमणि पोखरेलको गृहजिल्लाको नीजि विद्यालयहरुले तोकिएकै पसलबाट पुस्तक खरिद गर्न अघोषित उर्दी नै जारी गरेको अभिभावकहरुले बताएका छन् ।
पुस्तक खरिद गर्ने ब्यबसायीहरुका अनुसार पसलले आफ्नो सक्कल बिल नै नदिएको गुनासो गरेका छन् ।
स्रोतका अनुसार प्रत्येक शैक्षिक सत्रमा पुस्तक पसलहरुले लाखौं रुपैयाँको खरिदबिक्री गर्ने गरेकोले प्यान नम्बर वा भ्याट नम्बर भएको बिल अभिभावकहरुलाई नदिने गरेका हुन् ।
हजारौंको संख्यामा रहेको अभिभावकहरुले बच्चाको भविष्य बनाउन हजारौं रुपैयाको पुस्तक बिना सक्कल बिल नै किन्नुपरेको स्थानीय रंजीत साहले बताए ।
बजारमा नीजि विद्यालयहरुले सिन्डिकेट संचालन गर्न पुस्तक ब्यबसायीहरुलाई जिम्मेवारी दिएको बुझिएको छ ।
जिल्लामा उपभोक्ताको हकहितका लागि जिम्मेवारी पाएका निकायहरुले यस विषयलाई गंभीरताको साथ नलिएका कारण राजश्व विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुगमन गर्नुपर्ने आग्रह अभिभावकहरुको छ ।
राजश्व तथा अख्तियारले पुस्तक पसलहरुमा छापा हान्दा कुनै किसिमको बिरोध भए अभिभावकहरुले नीजि विद्यालयहरुमै तालाबन्दी गरिदिनुपर्ने तर्क अभिभावकको अधिकारलाई सुरक्षित गर्न बनेको संघसंस्थाका प्रतिनिधिहरुको छ ।
नीजि विद्यालय र पुस्तक ब्यबसायीको सिन्डिकेटको कारण गतबर्ष पुस्तक खरिदमा दिंदै आएको छुट यसबर्षदेखि कटौती गरिएको छ ।
पुस्तक प्रकाशनगृहले नै खरिदकर्ताको लागि केही प्रतिशत छुटको ब्यबस्था गर्ने गरेकोले यसबारे संघ , प्रदेश सरकार र स्थानीय सरकारको सम्बन्धित निकायले अनुसन्धान थाल्नुपर्ने देखिएको छ ।
साथै राजश्व छलि तथा कालोबजारी नियन्त्रण गर्न सम्बन्धित निकायले पहल गर्नुपर्ने आग्रह अभिभावकहरुको छ ।
तपाईको प्रतिक्रिया