काठमाडौं, ६ पुस । नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरीले नेपाल एउटा विकासशील मुलुक रहेको बताउँदै जहिले पनि भारतको साथ र सहयोग रहने बताएका छन् ।
राजदूत पुरीको बिदाइका लागि राजपा नेपालले आइतबार काठमाडौंको एक पाँचतारे होटलमा आयोजना गरेको एक विशेष समारोहमा उनले यस्तो बताएका हुन् ।
सो कार्यक्रममा राजदूत पुरीले नेपाल र भारत जस्तो सम्बन्ध विश्वमा उदाहरणीय रहेको बताए । उनले एक छिमेकीले अर्को छिमेकीको हरेक सुख–दुखमा साथ र सहयोग गर्दै आएको बताए ।
आफ्नो कार्यकाल एकदमै सुखद भएको अनुभव सुनाउँदै राजदूत पुरीले भने, ‘यो अवधिमा नेपाल र भारतबीचको सम्बन्ध थप मजबुत र सुमधुर भएको मैले महसुस गरेको छु ।’
राजपा नेपालबारे आफ्नो धारणासमेत उनले व्यक्त गरेका थिए । उनले आफू नेपाल आएको बेला ६ दल मिलेर राजपाको निर्माण भएको बताए । धेरै कम समयमा राजपाले निकै उपलब्धि हासिल गरेको पनि बताए ।
बिदाई समारोहमा राजपा नेपालका अध्यक्षमण्डलका नेताहरु राजेन्द्र महतो, महन्थ ठाकुर, महेन्द्र यादव, शरतसिंह भण्डारी, अनिल झा, राजकिशोर यादव, संघीय सांसद, प्रदेश सभा सदस्य, केन्द्रीय पदाधिकारी लगायतले शुभकामना दिएका थिए ।
राजपा नेपालका अध्यक्षमण्डलका नेता, संघीय सांसद, प्रदेश सभा सदस्य, केन्द्रिय पदाधिकारीहरुले राजदूत पुरीलाई मायाको चिनोसमेत प्रदान गरेका थिए ।
तपाईको प्रतिक्रिया