काठमाडौं, २३ माघ । नौ सय मेगावट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाका लागि नेपाल र भारतका सात बैंकले वित्तीय व्यवस्थापन गर्ने भएका छन् ।
भारतीय कम्पनी सतलजले निर्माण जिम्मा लिएको अरुण तेस्रोका लागि बिहीबार वित्तीय व्यवस्थापनको पक्ष टुंग्याइएको हो । २५ प्रतिशत बढी निर्माण भइसकेको यो आयोजनामा लामो प्रतिक्षापछि वित्तीय व्यवस्थापनको पक्ष टुंग्याइएको हो ।
नेपाल र भारतका ७ वटा बैंकहरुले आयोजनाका लागि करिब एक खर्ब लगानी सम्झौता गरेका छन् । जसमा भारत सरकार स्वामित्वको भारतीय स्टेट बैंक (एसबीआई), पञ्जाव नेशनल बैंक, युनियन बैंक अफ इन्डिया, क्यानरा बैंक र भारतीय एक्सपोर्ट इम्पोर्ट (एक्जिम) बैंकले ऋण लगानी गर्ने छन् ।
त्यसैगरी यो आयोजना निर्माणका लागि नेपालका एभरेष्ट र नबिल बैंकले पनि लगानी गर्दैछन् । सरकारले २०७१ साल मंसिर ९ गते परियोजना विकास सम्झौता (पीडीए) गरी निर्माण जिम्मेवारी भारतीय कम्पनी सतलजलाई दिएको थियो ।
नेपाल र भारतका प्रधानमन्त्रीले २०७५ बैसाख २९ गते नयादिल्लीमा स्वीच थिचेर अरुण तेस्रो परियोजनाको संयुक्त शिलान्यास गरेका थिए । अहिले अरुण तेस्रोमा २५ प्रतिशत काम सकिएको ऊर्जा मन्त्रालयले जनाएको छ । सम्झौताअनुसार यो जलविद्युत् परियोजना सन् २०२२ भित्र सम्पन्न गरिने छ ।
अरुण ३ मा करिब साढे १४ अर्ब रुपैयाँ (९ अर्ब भारु) नेपाली दुई बैंकले लगानी गर्दैछन् । नेपालको लगानी सम्मेलनको क्रममा एभरेष्ट बैंकले ८ अर्ब १२ करोड ६१ लाख र नबिल बैंकले ४ अर्ब ८७ करोड ५८ लाख रुपैयाँ ऋण दिने गरी सम्झौता गरेका थिए । करिब ८५ प्रतिशत अर्थात ८५ अर्ब रुफेयाँ पाँचवटा भारतीय बैंकमार्फत ऋण लिइने भएको छ ।
स्टेट बैंक अफ इन्डिया (एसबीआई) को नेतृत्वमा भारतका पाँचवटा बैंकले अरुण तेस्रोमा ऋण लगानी गर्न लागेका हुन । यो परियोजना निर्माणको लगानी एक खर्ब १६ अर्ब पुग्ने प्रक्षेपण गरिएको छ ।
तपाईको प्रतिक्रिया