काठमाडौं, १५ फागुन । नेपाल–भारत पेट्रोलियम पाइपलाइन विस्तारको काम अन्तिम चरणमा पुगेको छ ।
बाराको अमलेखगञ्जदेखि बिहारको मोतिहारीसम्म बिछ्याउन लागिएको पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत नेपालतर्फ जंगल रहेको भू-भागमा मात्रै बाँकी रहेको नेपाल आयल निगमले जनाएको छ ।
निगमले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा नायब कार्यकारी निर्देशक सुशील भट्टराईले नेपालतर्फ विछ्याउनु पर्ने ३६ किलोमिटर मध्ये २७ किलोमिटर बिछ्याइ सकिएको जानकारी दिए ।
नेपालतर्फ अमलेखगञ्जदेखि रक्सौलसम्म ३६ दशमलब २ किलोमिटर र रक्सौलदेखि मोतिहारीसम्म ३२ किलोमिटर पाइप गाड्नुपर्ने छ । भारततर्फ भने झण्डै ५ किलोमिटर जति मात्रै पाइप गाड्न बाँकी छ ।
पथलैयादेखि अमलेखगञ्जसम्म निकुञ्जको जंगल क्षेत्र भएको र पथलैया सिमरा क्षेत्रमा पनि जंगल भएकोले झण्डै ९ किलोमिटर क्षेत्रमा भूमिगत पेट्रोलियम पाइपलाइन विछ्याउने काम शुरु हुन सकेको छैन ।
पाइपलाइन परियोजना सम्पन्न भएपछि पाइपलाइनमार्फत पेट्रोल, डिजेल र मट्टतिेलको ढुवानी गर्न सकिनेछ । यसको इन्धन बहाव क्षमता मोतिहारीमा २ सय ९४ किलोलिटर प्रतिघण्टा र रक्सौलमा १ सय ९१ किलो लिटर प्रतिघण्टा हुनेछ ।
१ किलोमिटरमा औसत ५ करोड रुपैयाँ लागत लाग्ने अनुमान सहित भारत सरकारको सहयोगमा परियोजनाको काम अघि बढिरहेको छ । पाइपलाइन परियोजना निर्माणको काम भारतीय कम्पनी लिखिता इन्फास्ट्रक्चर प्राईभेट लिमिटेडले गरिरहेको छ ।
तपाईको प्रतिक्रिया