काठमाडौं, ८ चैत । नेपाल–भारत पारवहन सन्धिमा स्थलगत जल यातायात (इनल्यान्ड वाटरवेज)लाई पनि समेट्न दुई मुलुक सहमत भएका छन् ।
नयाँदिल्लीमा सकिएको सहसचिवस्तरीय वार्ताले यस्तो सहमति गरेको हो । नेपाल–भारतबीचको पारवहन सन्धि पुनरावलोकनका लागि प्राविधिक तहमा छलफल तथा वार्ता भइरहेको छ ।
तत्काललाई भारतले विकास गरेको जलमार्ग नेपालले प्रयोग गर्न सक्नेसमेत सहमति भएको छ ।
यस्तै सहसचिवस्तरीय वार्ताले थप दुई नाकाबाट बल्क कार्गो ल्याउन सकिने सहमति गरेको छ । हाल तेस्रो मुलुकबाट आउने बल्क कार्गो वीरगन्ज–रक्सौल नाकासम्म मात्रै आउने गरेको छ ।
भारतले तेस्रो मुलुकबाट नेपाल आउने बल्क कार्गोको प्रवेश बिन्दुका रूपमा वीरगन्जका अलावा अब विराटनगर र भैरहवालाई समेत मान्यता दिने छ ।
नेपाललाई थप दुईवटा बन्दरगाह प्रयोग गर्न दिन पनि भारत तयार भएको छ । नेपालले गरेको आग्रहअनुसार उडिसाको धमरा बन्दरगाह र गुजरातको कण्डला बन्दरगाह प्रयोग गर्न दिन भारत तयार भएको छ ।
तपाईको प्रतिक्रिया