काठमाडौं, २० माघ । कोरोना भाइरसको महामारीबाट बच्न भन्दै सरकारले सीमा क्षेत्रमा पनि स्वास्थ्य परीक्षण र उच्च निगरानी शुरु गरेको छ ।
यसअघि रसुवागढी लगायत चीनतर्फको सीमा–नाकामा स्वास्थ्य जाँचको व्यवस्था गरिएकोमा अब भारतसँगको सीमा–नाकामा पनि कोरोना भाइरसको परीक्षणका लागि हेल्थ डेस्क स्थापना गरिने भएको छ ।
संघीय सरकारको गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयबीचको समझदारीअनुसार सबै सीमा क्षेत्रमा कोरोना भाइरस लक्षित परीक्षण र निगरानी शुरु गरिने भएको छ ।
यसैबीच रुपेन्देहीको भैरहवा सीमा–नाकामा कोरोना लक्षित स्वास्थ्य जाँच र निगरानी शुरु गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयको निर्देशनमा जनस्वास्थ्य कार्यालयले बेलहिया नाकासहित भारतसँग सीमा जोडिएका क्षेत्रमा निगरानी बढाएको हो ।
सीमा क्षेत्रमा कोरोना लक्षित परीक्षण तथा निगरानीका लागि स्वास्थ्यकर्मी परिचालन गरिएको जनस्वास्थ्य कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।
सहायता कक्षमा भारतबाट आउने पर्यटकलाई परामर्श दिने र शङ्का लागेमा नजीकको अस्पतालमा पठाउने गरिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । सहायता कक्ष बिहान ७ देखि साँझ ८ बजेसम्म सञ्चालन गरिनेछ ।
तपाईको प्रतिक्रिया