नेपालमा चल्ने रेल भारतमा तयार

समाचार

2/9/2020

काठमाडौं, २६ माघ । धनुषा जिल्लाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि खरिद गरिएको रेल सेट केही दिनभित्रै नेपाल आइपुग्ने भएको छ ।

निर्माणको काम सम्पन्न भइसकेकाले रेल ल्याउने बाटो पर्खिरहेको रेल विभागले जनाएको छ । नेपाल सरकारले भारतीय सरकारी कम्पनी कोनकानमार्फत रेल सेट खरिद गरेको हो ।

भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा रेलमार्ग निर्माण भएकामा सो मार्गमा सञ्चालनका लगि रेल सेट नेपाल सरकारले खरिद गरेको हो ।

रेल सेट भारतबाट लिग भएरै ल्याउनुपर्ने भएकाले लिग खाली भएको उपयुक्त समय मिलाएर ल्याउन लागिएको विभागका महानिर्देशक बलराम मिश्रले बताए । उनले भने, ‘रेल सेट रेलमार्गसम्म केही दिनभित्रै आइपुग्नेछ ।’

सरकारले भारत सरकारसँग २ वटा रेल सेट खरिद प्रक्रिया गत वर्षअघि बढाएको थियो । ‘जी टु जी’ (२ सरकारका बीच) रेल खरिद गरिएको हो । २ वटा सेटमध्ये अहिले एउटा सेट आइपुग्ने र केही समयपछि अर्काे सेट आइपुग्ने विभागले जनाएको छ । डिजेल इलेक्ट्री मल्टिपल युनिट प्रविधिको सेटमा एउटामा ५ वटा डिब्बा रहने विभागका प्रवक्ता अमन चित्रकारले बताए ।

उनका अनुसार सरकारले अहिले २ वटा सेट खरिद गर्दा त्यसमा जम्मा १० डिब्बा रहन्छन् । यी २ सेटको क्षमता १ हजार २ सयसम्म यात्रु बोक्ने रहेको उनले बताए । ‘रेल सेटको निर्माण भइरहेकाले अहिले भनेभन्दा १–२ सयसम्म तलमाथि हुनसक्छ,’ उनले भने ।

जयनगरबाट कुर्थासम्म ३५ किलोमिटर लम्बाइमा रेल सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार निमाण भइसकेको छ । सोही खण्डमा अहिले रेल सञ्चालन हुँदैछ । भारतको जयनगरदेखि नेपालको बर्दिवाससम्म ६९ किलोमिटर रेल सञ्चालन गर्ने लक्ष्य राखिएकामा हालका लागि ३४ किलोमिटर मात्र रेल सञ्चालन हुनेछ ।

कुर्थादेखि बर्दिवासको विजुरासम्म थप १७ किलोमिटरमा आगामी दिनमा रेलमार्ग विस्तार गरिनेछ । जग्गा प्राप्ति हुन बाँकी रहेकाले लिक निर्माणमा ढिलाइ भएको हो ।

जनकपुर–कुर्था रेलमार्ग निर्माणका लागि सरकारले भारत सरकारसँग सन् २०१० मा सम्झौता गरेको थियो । त्यसको एक–डेढ वर्षपछिबाट काम शुरू भएको चित्रकारले बताए । भारत सरकारको आर्थिक र प्राविधिक सहयोगमा सीमा क्षेत्रमा ५ स्थानमा रेलमार्ग निर्माण हुन लागेको उनले जानकारी दिए । तीमध्ये जयनगर–कुर्था र विराटनगर–जोगबनीबाहेक अरु ३ स्थानमा निर्माणको काम शुरू हुन सकेको छैन ।

भारत सरकारसँगको सम्झौतानुसार नै विराटनगरबाट बथनाहासम्म १८ किलोमिटर रेलमार्गमा १० किलोमिटरको काम सम्पन्न भएको भौतिक योजना तथा यातायात मन्त्रालयले जनाएको छ ।

१० किलोमिटर रेलमार्ग सञ्चालनका लागि तयार भइसकेको छ । सीमा क्षेत्रमा निर्माण गर्ने भनिएको अरु ३ रेलमार्गमा जलपाइगुडी–काकडभिट्टा, नौतनहवा–भैरहवा र नेपालगञ्जरोड–नेपालगञ्ज रहेका छन् । यी सबै रेलमार्ग भारत सरकारले नै निर्माण गर्ने गरी सम्झौता भएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ