नेपालमा लगानीको संभावनाबारे गुजरातमा सम्मेलन

समाचार

3/15/2019

काठमाडौं, १ चैत । भारतीय लगानीकर्तालाई नेपालमा आकर्षित गर्न नेपाली दूतावासले आर्थिक संवाद तथा छलफलका कार्यक्रम आयोजना गर्ने क्रम जारी छ ।

यसै क्रममा दुतावासले गुजरातका संभावित लगानीकर्ताको ध्यानाकर्षण गर्न अहमदाबादमा सम्मेलनको आयोजना गरेको छ ।

सरकारका लगानीमैत्री नीति नियमबारे गुजरातका उद्योगी व्यवसायीलाई जानकारी गराउँदै नजिकिँदै गएको लगानी सम्मेलनमा सहभागी हुन दूतावासले आह्वान गरेको छ ।

गुजरात उद्योग वाणिज्य संघसँगको सहकार्यमा सम्पन्न नेपालको व्यापार, पर्यटन तथा लगानी संभावना विषयक एक दिने सम्मेलनमा नेपाली दूतावासका इकोनोमिक मिनिष्टर कृष्णहरि पुष्करले आउँदो लगानी सम्मेलनबारे जानकारी गराउँदै पर्यटन वर्ष २०२०को प्रचार प्रसार गर्नेगरी कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा गुजरात उद्योग वाणिज्य संघका अध्यक्ष डा. जाइमिन वासाले राजनीतिक स्थिरता पछि नेपाल तीब्र आर्थिक विकासको पथमा अघि बढेको भन्दै लगानीका लागि उपयुक्त अवसर भएको उल्लेख गरे ।

संघका वैदेशिक व्यापार समितिका सभापति पदमिन बचले नेपाल भारतबीच आयात निर्यातको सहजताका लागि आउँदो समयमा गुजरातको मुन्द्रा बन्दरगाहको संभाव्यता औंल्याएकी थिइन् । यसअघि दूतावासले मुम्बइ, दिल्ली, चेन्नइलगायतका स्थानमा लगानी सम्मेलन सम्पन्न गरिसकेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ