काठमाडौं, ३ माघ । भारत सरकारको सहयोगमा पुनर्निर्माण भएका निजी आवास गृहहरू हस्तान्तरण हुने भएको छ ।
प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच ‘भिडियो कन्फ्रेन्स’ मार्फत निजी आवास गृहहरू हस्तान्तरण हुन लागेको हो ।
दुई समकक्षीबीच माघ ७ गते ‘भिडियो कन्फ्रेन्स’ हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
काठमाडौंको सिंहदरबारमा प्रधानमन्त्री केपी ओली र दिल्लीबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भिडियो कन्फ्रेन्समा जोडिने छन् । भारतले नुवाकोट र गोरखामा कूल ५० हजार निजी आवास निर्माणमा सहयोग गरेको छ ।
ती घर हस्तान्तरणका लागि दुई प्रधानमन्त्री भिडियो कन्फ्रेन्समा जोडिने तयारी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले बताए ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीका अनुसार भारतीय सहयोगमा निर्माण भएका भूकम्प प्रतिरोधी घर हस्तान्तरणको तयारी भइरहेको छ ।
भारतीय सहयोगमा गोरखामा मात्र २७ हजार घरको पुनर्निर्माण भएको छ । निजी आवास पुनर्निर्माणतर्फ भारत सरकारले ‘नेपाल आवास पुनर्निर्माण परियोजना’मा लगानी गरेको हो ।
यस्तै, दुई प्रधानमन्त्रीले सोअी भिडियो कन्फ्रेन्समार्फत विराटनगरमा निर्माण सम्पन्न भएको एकीकृत जाँच भन्सार विन्दु (आईसीपी)को पनि उद्घाटन गर्नेछन् ।
तपाईको प्रतिक्रिया