नेपाली सेनाको कार्यको प्रशंसा

समाचार

2/13/2020

काठमाडौं, १ फागुन । उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलले नेपाली सेनाको श्री सैनिक कमाण्ड तथा स्टाफ कलेज, शिवपुरीमा संचालन भएको ''Dynamics of Insurgency in Nepal: Lessons for Sustainable Peace'' विषयक दुई दिवसीय सेमिनारको एक विशेष कार्यक्रमका बीच उद्घाटन गरेका छन् ।

उक्त सेमिनारको उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पोखरेलद्वारा शान्ति सुरक्षाको बहाली र यसको भरपर्दो व्यवस्थापनमा अहोरात्र खटेको नेपाली सेनाले राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय क्षेत्रमा शान्ति स्थापनाको लागि खेलेको भूमिकाको प्रशंसा गर्दै प्राकृतिक तथा अन्य विपतीहरूमा उद्धार, राहत र दिगो समाधानको निम्ति नेपाली सेनासँग भएको अनुभव अन्य देशको लागि समेत उपयोगीसिद्ध हुने विचार व्यक्त गरेका थिए ।

उनले आजको सन्दर्भमा रोजगारी, विपन्नरता र जलवायु परिवर्तन जस्ता मानवीय असुरक्षाका कारण मुलुकको सामाजिक, आर्थिक र भौतिक सुरक्षा माथि खतरा उत्पन्नन गरेको र यस प्रकारको खतरालाई क्रमशः न्यून गर्दै ’समृद्ध नेपालः सुखी नेपाली ’ को उद्देश्यलाई परिपूर्ति गर्ने कार्यमा नेपाल सरकार क्रियाशील रहेको बताए ।

सम्बोधनकै क्रममा उनले मानव स्वतन्त्रता र मानव अधिकारको संरक्षण र सम्बर्द्धन गर्ने संस्कारको विकास गर्दै गएमा सामाजिक र आर्थिक प्रगतिमा टेवा पुग्ने तथा आम समुदायमा सन्तुष्टी र खुसी पैदा भई आर्थिक असमानता र सामाजिक विभेद हट्ने र फलस्वरूप सामाजिक र सशस्त्र विद्रोहको अवस्था नआउने बताए ।

कुनै पनि कारणले हुन सक्ने सशस्त्र विद्रोहलाई रोक्ने र दिगो शान्ति ल्याउने प्रयोजनका लागि समय सुहाँउदो अवधारणा र ढाँचा तयार गर्नु आवश्यक रहेको र यो उद्देश्य पुरा गर्ने कार्यमा सेमिनार सफल हुने छ भन्ने विश्वास व्यक्त गरेका छन् । अन्त्यमा उनले सेमिनारको सफलताको कामना व्यक्त गरेका हुन् ।

कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापा, रक्षा सचिव रेश्मी राज पाण्डे, नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त रथीवृन्द र अधिकृतहरू, त्रिभुवन विश्व विद्यालय तथा रक्षा कुटनीति क्षेत्रका विषयमा विज्ञता हासिल गरेका विशिष्ट व्यक्तित्वहरू अन्य सुरक्षा निकायका पदाधिकारीहरू, संचारकर्मीहरू तथा उक्त कलेजमा संचालन भईरहेको कमाण्ड तथा स्टाफ तालिमका शिक्षक लगायत तालिमरत स्वदेशी तथा विदेशी शिक्षार्थीहरूको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ