राजविराज, १३ माघ । जाडोबाट समस्यामा रहेका दलित विपन्न परिवारका छात्र–छात्रालाई शनिबार न्यानो कपडा वितरण गरिएको छ ।
सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकाको अतिविकट मानिएको गोबरगढा र मधवापुरका ९२ दलित विपन्न परिवारका छात्रछात्रालाई न्यानो कपडा वितरण गरिएको हो । सिर्जना फाइनान्सद्वारा जाडोबाट पीडित छात्रछात्रालाई न्यानो कपडा वितरण गरिएको स्थानीयवासी गङ्गा साहले बताए ।
यस्तै जिल्लाको बिष्णुपुर र रुपनी गाउँपालिकाका ७५ दलित विपन्न परिवारलाई कम्बल वितरण गरिएको छ । मानव सेवा ट्रष्ट र उपकार सेवा नामक संस्थाले संयुक्त रुपमा जाडोबाट प्रभावित दलित, एकल महिला तथा अतिविपन्न घरपरिवारलाई कम्बल वितरण गरेको हो ।
यस्तै सप्तरीको रुपनी गाउँपालिका–६ का २५ दलित विपन्न परिवालाई कम्बल वितरण गरिएको छ । त्यस्तै विष्णुपुर गाउँपालिका–७ स्थित रामटोलमा आयोजित कम्बल वितरण कार्यक्रममा मानव सेवा ट्रष्टका अध्यक्ष सुरेश गुप्ता, सदस्य विनोदकुमार विश्वकर्मा र उपकार सेवाका निर्देशक वसन्त खन्डेबाललगायतले सो बस्तीका ५० दलित एवं विपन्न परिवारलाई कम्बल वितरण गर्नुभएको छ ।
यसैबीच तोपास्थित मेरी स्टोप्स नेपालद्वारा गरिएको परिवार नियोजनका क्रममा चिकित्सकको लापरवाहीले मृत्यू भएको भन्दै पीडित परिवारलाई राहत प्रदान गरिएको छ ।
तपाईको प्रतिक्रिया