न्यायिक समितिका प्रमुखलाई साइबर अपराधसम्बन्धि प्रशिक्षण

समाचार

11/25/2018

जलेश्वर, ९ मंसिर । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा प्रदेश २ को चार जिल्लाका न्यायिक समितिका प्रमुखसहितका सरोकारबालाहरुलाई दुई दिवसीय साइबर क्राइम सम्बन्धी अभिमुखीकरण गोष्ठी आइतबारदेखि शुरु भएको छ ।

सामाजिक विकास मन्त्रालय प्रदेश २ को आयोजनामा साइबर क्राइमबाट महिला तथा बालबालिकाको कसरी संरक्षण गर्न सकिन्छ भन्ने विषयवस्तुमा अभिमुखिकरण गोष्ठी शुरु गरिएको सामाजि विकास मन्त्रालय प्रदेश नम्बर दुईका बालअधिकार श्रोतव्यक्ति झम्केश्वर ओझाले जानकारी दिए ।

प्रदेश २ को महोत्तरीसहित धनुषा, सिरहा र सर्लाहीका स्थानीय तहका उपप्रमुख, नगरपालिकाका सामाजिक विकास शाखाका कर्मचारी तथा नेपाल प्रहरीका महिला तथा बालबालिकाका क्षेत्रमा काम गर्ने प्रहरीहरुलाई सो गोष्ठीमा सहभागिता रहेको ओझाले बताए ।

उनले दुई दिनको अवधिमा साइबर अपराधको बारेमा जानकारीका साथसाथै कानुनी दण्ड र सजायको व्यवस्था, साइबर अपराधबाट महिला तथा बालबालिकाहरुलाई कसरी संरक्षण गर्ने, सूचना प्रविधि नीति तथा साइबर अपराधको चुनौती र न्यूनीकरणका उपाय तथा बालबालिका र महिलालाई साइबर अपराधबाट बचाउन स्थानीय तहको भूमिकाबारे मुख्य रुपमा प्रशिक्षण दिइने बालअधिकार श्रोत व्यक्ति ओझाले दावी गरे ।

गोष्ठीमा प्रदेश २ का सचिव देवीराम भण्डारी, श्रोतव्यक्ति ओझा, संघीय प्रहरी इकाई कार्यालय प्रदेश २ का प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्र, कानुन अधिकृत सुरेन्द्र महतो, प्रमुख महिला विकास अधिकृत मीरा मिश्रसहितकाहरुले प्रशिक्षण दिनेछन् ।

सो गोष्ठीको उदघाटनसत्रमा प्रदेश सचिव देवीराम भण्डारीले स्थानीय तहमा न्यायीक समितिका प्रमुखको रुपमा रहनुभएका उपप्रमुखहरुको क्षमता विस्तार भई साइबर अपराधबाट महिला तथा बालबालिकाहरुलाई संरक्षण गर्न सकिने मुख्य उद्देश्यका साथ प्रदेशभरी नै यो गोष्ठीको आयोजना गरिने बताए । उनले अहिले प्रदेशको चार जिल्लालाई यो प्रशिक्षण दिइएको र बाँकी रहेको चार जिल्लामा पनि छिट्टै नै यो गोष्ठी गरिने जानकारी दिए ।

सो कार्यक्रममा प्रमुख अतिथी प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्माले प्रविधिमा पहुँचसंगै महिला तथा बालबालिकाहरु बढी साइबर अपराधमा परेको कारणले यो गोष्ठी गर्नुपरेको बताउँदै साइबर अपराधबाट अहिले सबैभन्दा बढी चुनौती रहेको बताए ।

उनले प्रदेश नम्बर दुईका महिला तथा बालबालिकाहरुको संरक्षणसहित समग्र व्यवस्थापनका लागि प्रदेश सरकारले आफनो कार्यक्रमहरु अगाडी बढाएको बताउँदै सोही अन्तर्गत नै साइबर अपराधलाई न्यूनीकरण गरी महिला तथा बालबालिकाहरुलाई यसबाट संरक्षणको लागि यो प्रशिक्षण गरिएको बताए ।

कार्यक्रममा महोत्तरी जिल्ला समन्वय समितिका सभापति सुरेशप्रसाद सिंह, प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकाल, प्रहरी नायव उपरिक्षक खगेन्द्रबहादुर खडका, नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका अध्यक्ष कमलेश मण्डल लगायतकाले आ–आफनो मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ