जनकपुरधाम, १३ जेठ । नेपाल र भारतका प्रतिनिधिहरूले सीमामा जीर्ण रहेको सीमा स्तम्भहरूको स्थानमा नयाँ सीमा स्तम्भ निर्माणका लागि सम्झौता भएको छ ।
जनकपुरधाममा भएको दुवै देशका प्रतिनिधि सम्मिलित सो कार्यक्रममा नेपालको धनुषा, महोत्तरी, सिरहा र सप्तरी तथा भारत बिहारस्थित मधुबनी जिल्लाका अधिकारीबीच भएको बैठकमा सीमा क्षेत्रको बाँकी रहेका स्थानहरूमा तत्काल स्तम्भ निर्माण गर्न सम्झौता भएको हो ।
प्रदेश दुईको नेपाल–भारतसँग जोडिएको धनुषा, महोत्तरी, सिरहा र सप्तरीसम्म कुल ९ सय ४२ सीमा स्तम्भ रहेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले सो कार्यक्रममा जानकारी दिएका हुन् ।
प्रमुख जिल्ला अधिकारी कँडेलका अनुसार महोत्तरीदेखि सप्तरीसम्म कुल ९ सय ४२ वटा सीमा स्तम्भहरूमध्ये ३ सय ९४ को मर्मत सम्भार र ५ सय ४८ निर्माण गर्नुपर्ने आवश्यकता रहेको छ ।
दुई मुलुकका अधिकारीबीच आउँदो ‘सिजन’ मा सप्तरीमा निर्माण गर्नुपर्ने सम्झौतामा हस्ताक्षर भएको बैठकपछि कँडेलले बताए। यसैगरी यस ‘सिजन’ मा ६ सय १८ वटा सीमा स्तम्भको मर्मत सम्भार गरिएको समेत जानकारी दिए ।
यससँगै सुरक्षासम्बन्धी चुनौतीका कुराहरूको बारेमा समेत गम्भीर रूपमा छलफल भएको छ । नेपाल–भारत सीमा क्षेत्रमा भइरहेका अवैधरूपमा मदिरा तस्करी र लागुऔषध ओसार पोसारका बारेमा चनाखो भई यसलाई रोक्नका लागि संयुक्तरूपमा कार्य थालिने दुवै देशका अधिकारीहरूले प्रतिवद्धता जनाएका छन् ।
तपाईको प्रतिक्रिया