नरैनापुरमा हुरीपपले सुरु गर्यो मानव अधिकार सम्बन्धी तालिम

समाचार

6/23/2019

बाँके, ८ असार । नरैनापुर गाउँपालिका सदस्यहरू, वडा अध्यक्ष,सदस्य र यूवाहरुलाई स्थानीय सरकार र मानव अधिकार अनुगमन,दस्ताबेजीकरण र प्रतिबेदन लेखन विषयक तालिम शनिबारबाट नरैनापुरमा सुरु भएको छ ।

शनिबारबाट सुरु भएको तालिममा गाउँपालिकाका जनप्रतिनिधि र यूवाहरुलाई मानव अधिकार, सुशासन, विभिन्न ऐन नियम, काम कर्तव्यहरूको बारेमा सहजिकरण गरिएको थियो ।

गाउँपालिका सदस्यहरू र यूवाहरुलाई थर्ड एलायन्स नेपालगंजका प्रमुख एव मानव अधिकार संरक्षण तथा प्रवद्र्धन केन्द्रका अध्यक्ष आलम खान, आईएचआरसीका अध्यक्ष अधिवक्ता बिश्वजीत तिवारी, राष्ट्रिय मानव अधिकार आयोगका महिमा चौधरीले सहजिकरण गरेका थिए ।

नरैनापुर गाँउपालिकाको आर्थिक सहयोग र मानव अधिकार संरक्षण तथा प्रवद्र्धन केन्द्र (हुरीपप)को आयोजनामा शनिबारबाट सुरु भएको तालिमको उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै गाँउपालिका अध्यक्ष इस्तीयाक अहमद शाहले नरैनापुर गाउँपालिका सबैभन्दा पिछाडिएको क्षेत्र भएकोले मानव अधिकार उल्लघनका घटनाहरु बढी हुने गरेको बताए ।

उनले यूवाहरुलाई अंकित गर्दै भने, नरैनापुरका नागरिकले अहिलेसम्म नेताहरुको झोला बोक्ने काम मात्र गरेकोले नरैनापुरको विकास हुन नसकेको बताउदै झोला बोक्ने प्रबृतिको अन्त्य गरी मानव अधिकार मैत्री समाज निर्माण गर्नतर्फ लाग्न सुझाव दिए ।

अध्यक्ष शाहले नरैनापुरमा मानव अधिकारको सवालमा हुरीपपले काम गर्ने चासो व्यक्त गरेपछि आफूलाई निकै मन पर्ने र जनताको अधिकारको लागि स्वतन्त्र भएर बोल्न सक्ने पीडितलाई न्याय दिलाउनका लागि काम गर्ने भएकोले गाँउपालिकामा मानव अधिकार सचेतना फैलाउनका लागि तालिमको आयोजना गरेको जिकिर गरेका थिए ।

केही दिन पहिला नरैनापुरमा एक जना भारतीय नागरिकलाई चरेशको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको व्यक्ति निर्दोश रहेको बताउदै गाउपालिका अध्यक्ष शाहले प्रहरी आफनो छबी बनाउनका लागि झुठो आरोपमा जनतालाई फसाउनु सबैभन्दा ठूलो मानव अधिकार उल्लंघनको घटना भएकोले चरेशको आरोपमा पक्राउ परेका निर्दोश व्यक्रिलाई रिहाई र दोषी प्रहरीलाई कारवाहीका लागि पहल गर्न मानव अधिकारकर्मीहरुसँग अपिल गरेका थिए ।

वडा नं. ३ का अध्यक्ष राज कुमार मौर्यले मानव अधिकारको मूल्यमान्यताका बारेमा विस्तृत जानकारी नरहेकोले मानव अधिकार उल्लघनका घटना भए पनि स्थानीय स्तरमा मिलामात्र हुने गरेको बताए । उनले तालिम पश्चात मानव अधिकार मैत्री वडा बनाउने प्रतिबद्धता व्यक्त गरे ।

वडा नं. ४ का अध्यक्ष दिनेश शर्माले आफ्नो कार्यकालमा नरैनापुरमा पहिलो पटक मानव अधिकारको तालिम आयोजना भएको बताउदै भविष्यमा सरकारी निकायहरुमा मानव अधिकार मैत्री सेवा प्रवाह हुने कुरामा विश्वस्त रहेको जिकिर गरे ।

यस्तै वडा नं. २ का अध्यक्ष मसुद अहमद शाहले शिक्षाको कमीका कारण मानव अधिकार उल्लघनका घटनाहरु नरैनापुरमा बढी हुने गरेको बताए । मानव अधिकार शिक्षाका बारेमा जनप्रतिनिधि र यूवाहरुलाई जानकारी गराउन निकै महात्वपूर्ण रहेको बताउदै तालिम उपलब्धी मूलक रहेको बताएका थिए ।

हुरीपपले आयोजना गरेको तालिममा नरैनापुर गाउँ कार्यपालिकाका सदस्य, वडा अध्यक्ष, सदस्यहरु, यूवाहरुको सहभागिता रहेको छ । नरैनापुर गाउँपालिकाको आर्थिक सहयोगमा सुरु गरेको तालिम ३ दिनसम्म चल्ने आयोजक हुरीपपले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ