दिनेश ठाकुर, नेपालगञ्ज, १७ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरेले ठेक्का लिएर लामो समयसम्म काम सम्पन्न नगर्ने निर्माण कम्पनीलाई अख्तियारले सुक्ष्म निगरानीमा राखेको बताएका छन् ।
विगतमा जस्ता ठेक्का होल्ड गरिराखेमा अख्तियारले टुलुटुलु हेरेर अब बस्नेछैन, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगञ्जको नवनिर्मित भवनको शनिबार उद्घाटन गर्दै प्रमुख आयुक्त घिमिरेले भने,– रुग्न प्रकृतिका सम्पूर्ण ठेक्काको विवरण अख्तियारले माग गरिसकेको छ ।
उनले निर्माण कम्पनीलाई सम्झौताको समयको शर्त अनुसार समयभित्रै गुणस्तरयुक्त काम सम्पन्न गर्न आग्रह समेत गरे । आयोगले राष्टिूय गौरवका आयोजनाका अनूगमन थालिसकेको बताउँदै उनले अब निर्माण कम्पनीको उपकरण तथा योग्य जनशक्तिको आधारमा ठेक्का दिनुपर्ने सुझाव दिए ।
आयोगले यस सम्बन्धमा कार्ययोजना बनाएर सरकारलाई बुझाएको उनको भनाई छ । उनले भ्रष्टाचार विरुद्ध कसैसँग पनि सम्झौता नहुने बताउँदै बर्तमान सरकार, अख्तियार र राष्टू सेवक कसैलाई पनि अब असफल हुने छुट नभएको दावी गरे ।
आयोग रहरमा नभई बाध्यतावश विषय प्रवेश गर्ने गरेको उनको भनाई छ । प्रमुख आयुक्त घिमिरेले प्रमुख आयुक्तको मातहत रहेको इन्टेलिजेन्स ईकाईले सार्वजनिक पद धारण गरेका ब्यक्तिको सुक्ष्म निगरानी गरिरहेको बताए ।
तपाईको प्रतिक्रिया