रौतहट, १९ जेठ । रौतहट जिल्लाको बौधिमाई नगरपालिका वडा नम्बर ७ बंकुलमा संचालित डाइनामिक इंगलिश बोर्डिंग स्कुलमा कार्यरत एक जना शिक्षकलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
स्थानीय एक पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सोही नगरपालिकाको वडा नम्बर ५ कोपवा निवासी अंदाजी २५ वर्षीय शिक्षक मैनेजर यादवलाई पक्राउ गरेको हो ।
गएको १७ गते दिउँसो करीब १ बजेको समयमा अवोध बालिकालाई यौन दुर्व्यवहार गरेको भनी अभिभावकले दिएको उजुरीको आधारमा प्रहरीले शिक्षक यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक नविन कार्कीले बताएका छन् ।
पक्राउ परेको यादवलाई हिरासतमा राखेर आवश्यक अनुसन्धान कार्य शुरू गरिएको कार्कीले जनाएको छ । यस्तै १५ दिन पहिला पक्राउ परेकालाई थप अनुसन्धान भैरहेको समेत उनले जानकारी दिएका छन् ।
विगत केही महिनादेखि रौतहटमा अपराधिक घटनामा बृद्धि भएको छ । चोरी, हत्या, बलात्कार जस्ता घटनामा बृद्धि भएको हो ।
तपाईको प्रतिक्रिया