पेट्रोलियम पाइपको काम अन्तिम चरणमा

समाचार

12/21/2018

वीरगञ्ज, ५ पुस । नेपाल तथा भारत सरकारको प्राथमिकतामा रहेको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप अब १२ दशमलव दुई किलोमिटर मात्र ओछ्याउन बाँकी रहेको छ ।

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजना कार्यालय सिमराका अनुुसार नेपालतर्फको ३६ दशमलव दुई किलोमिटर भूभागमध्ये २४ किलोमिटर क्षेत्रमा जमीनमुनि पाइप ओछ्याउने काम सम्पन्न भइसकेको छ ।

परियोजना कार्यालय सिमराका इञ्जिनीयर शरदप्रसाद पौड्यालले बाधा अवरोध नभए भारत विहारको राजधानी पटनाबाट पाइपलाइनमार्फत तीन महीनाभित्र नेपालमा पेट्रोलियम पदार्थ आउने बताए ।

परियोजनाअन्तर्गत बाराको जीतपुर बजारदेखि उत्तरतर्फको क्षेत्रमा केही औद्योगिक प्रतिष्ठानले सडक छेउमै ब्लक निर्माण गरेका छन् ।

सडक विभागले ६ लेनको सडक विस्तार गरिरहेकाले सो ब्लक हटाउने काम तीव्र गतिमा भइरहेको छ । उता भारतको मोतिहारीदेखि रक्सौल नाकासम्म ३३ दशमलव सात किलोमिटर भूभागमध्ये ३० किलोमिटर क्षेत्रमा पाइप ओछ्याउने काम सम्पन्न भएको छ ।

भारततर्फ तीव्र गतिमा काम भइरहेकाले बाधा अवरोध नआए चाँडै नै बाँकी क्षेत्रमा समेत काम सम्पन्न गरिने भारतीय आयल कर्पोरेशन रक्सौलले जनाएको छ ।

नेपालको ‘लाइफलाइन’का रूपमा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म ७० किलोमिटर लम्बाइको सो पाइपलाइन निर्माणका लागि भारत सरकारले ३५० करोड भारतीय रुपैयाँ लगानी गरेको बताइएको छ ।

पाइपलाइन निर्माण सम्पन्न भएपछि भारत विहारको राजधानी पटनाबाट प्रतिघण्टा २५० किलोलिटर पेट्रोलियम पदार्थ पाइपलाइनबाट भित्रिनेछ । पहिलो चरणमा परीक्षणका रूपमा डिजेल आउने बताइएको छ ।

जमीनबाट साढे दुई मिटर तल तथा पौने ११ इञ्चको माइल स्टिल भन्ने कालो रङ्गको पाइप राखिएकाले खिया भने लाग्दैन ।

यो परियोजना सञ्चालमा आएपछि नेपाल–भारतको रक्सौल नाकामा देखिने सडक जामको समस्या हट्नाका साथै पेट्रोलियम पदार्थमा हुने चोरी तथा अनियमितता हटेर जाने विश्वास लिइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ