पत्रकार महासंघ पर्सामा आन्दोलनको चेतावनी

समाचार

1/28/2020

वीरगन्ज, १४ माघ । नेपाल पत्रकार महासंघ पर्सा शाखाको सदस्यता प्रदान र शुद्धीकरणको सवालमा बर्तमान कार्यसमिति नेतृत्वको नियत र भूमिका उपर प्रश्न खडा गर्दै शाखाका सल्लाहकार एवं पूर्वअध्यक्ष अशोक तिवारीलगायतले मंगलवार एउटा पत्रकार सम्मेलन गरेका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै पूर्वअध्यक्ष तिवारीले योग्यता पुगेका पत्रकारहरुले सदस्यता पाउनु पर्नेमा काखापाखा गरेर कार्यसमितिका व्यक्तिहरुले बढीभन्दा बढी मान्छे भित्र्याउने दाउमा रहेको आरोप लगाए ।

‘पत्रकारिता सम्बद्ध संस्थाका अगुवाहरुको सकारात्मक हस्तक्षेपपुर्ण भुमिकापछि शाखाबाट सदस्यताको लागि सूचना अह्वान गरेर आवेदन संकलन हुने कार्य भएकोमा सबै पक्षले स्वागत गरेकै छ । आवेदन फर्म हस्तान्तरणको दौरान देखिएको तथ्य र गलत मनसायले भने झस्काएको मात्र छैन नैतिक्ताको आधारमा यो बिज्ञप्ति जारी गर्न बाध्य समेत पारेको छ,’ उक्त अवसरमा जारी प्रेस बिज्ञप्तिमा भनिएको छ, ‘कार्य समितिका अध्यक्ष र उपाध्यक्ष दुई जना मात्र मिलेर आफु आबद्ध संचार संस्थाबाट १७ वटा सदस्यता आवेदन फर्म भर्न लगाएका छन् । कार्य समितिका अन्य सदस्यहरुको समेत जोड्दा यो संख्या दोब्बरभन्दा बढी हुन जान्छ । सदस्यताको आवेदनउपर छानबिन तथा सिफासिस कार्यसमिति बाहिरबाट निश्पक्ष र स्वतन्त्र समितिमार्फत भएमा मात्र त्यो भरोसायोग्य हुने मेरो दृढ मान्यता हो ।’

कार्यसमितिकै उपाध्यक्ष तथा बहुमत सदस्यहरु भएको समितिले छानबिन गरी सिफारिस गर्ने र उनीहरु नै रहेको कार्यसमितिले त्यसउपर निर्णय गर्ने कार्य सन्तुलित नहुने उनले ठोकुवा गरे ।

त्यस कारणले महासंघका पुर्व पदाधिकारीहरु सम्लित एउटा स्वतन्त्र, निश्पक्ष र स्वायत समितिमार्फत नयाँ सदस्यताको निरुपण र पुरानो सदस्यसूची शुद्धीकरण होस भनेर माग गरिएको छ ।

त्यस्तै सदस्यता शुद्धीकरणपछि नवीकरणको अन्तिम टुँगो लगाउन भनिएको छ । कार्यक्रममार्फत पत्रकार तिवारीले महासंघ पर्साको वर्तमान कार्यसमिति नसच्चिए कडा आन्दोलनमा उत्रिने चेतावनी दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ