प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड सुरु

समाचार

3/4/2019

कपिलवस्तु, १७ फागुन । कपिलवस्तुको मायादेवी गाउँपालिकामा मंगलबारदेखि अन्तर माध्यमिक छात्रछात्रा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता २०७५ सुरु भएको छ ।

मायादेवी गाउँपालिकाको आयोजनामा सुरु भएको प्रतियोगितामा गाउँपालिका भित्रका ५ वटा माध्यमिक विद्यालयले सहभागीता रहेको जनाएको छ ।

प्रतियोगिताको उद्घाटन गर्दै प्रदेश सभा सदस्य सहसराम यादव प्रतियोगिताले विद्यालय स्तरका खेल प्रतिभाको पहिचान गरि प्रदेश र राष्ट्रिय स्तरसम्म पुग्ने अवसर प्रदान गर्न सहयोग पुग्ने बताए ।

तीन दिनसम्म चल्ने प्रतियोगितामा भलिबल, दौड, कबड्डी र एथलेटिक्स लगायत विभिन्न १५ वटा बिद्याका खेल सञ्चालन हुने शिक्षा शाखा प्रमुख रमेश पाडेयले जानकारी दिए ।

प्रतियोगितामा प्रथम, दितृय र तितृय हुने विद्यालयलाई रनिङ्ग शिल्ड, कप र मेडल सहित पुरस्कार प्रदान गरिने जनाइएको छ । उद्घाटन समारोहमा विभिन्न विद्यालयका विद्यार्थी तथा शिक्षकहरुको सहभागिता रहेको थियो ।

गाउँपालिका स्तरबाट छनौट हुने खेलाडीहरुलाई जिल्ला, प्रदेश हुँदै राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर प्रदान गरिने जिल्ला खेलकुद विकास समितिका राजेश शाक्यले बताए । उनका अनुसार, मायादेवी गाउँपालिकामा पहिलो पटक स्थानीय तहमा रनिङ्ग शिल्ड प्रतियोगिता आयोजना गरेको हो ।

अघिल्ला वर्षहरुमा जिल्ला स्तरमा मात्र राष्ट्रपती रनिङ्ग शिल्ड प्रतियोगिता सञ्चालन हुने गरेको थियो । प्रतियोगिता सञ्चालनका लागि राष्ट्रिय खेलकुद विकास परिषद्ले सबै स्थानीय तहलाई एक लाख रुपैयाँ प्रदान गरेको छ ।

मायादेवी गाउँपालिकाले थप बजेट बिनियोजन गरेको र प्रतियोगितालाई निरन्तरता दिने गाउँपालिकाका अध्यक्ष बजरंगी प्रसाद कुर्मीले बताएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ