प्रदेश १ को नीति तथा कार्यक्रम सार्वजनिक

समाचार

6/7/2019

विराटनगर, २३ जेठ । प्रदेश १ को आगामी आर्थिक बर्ष ०७६/०७७ को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । प्रदेश प्रमुख प्रा डा गोविन्द सुब्बाले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

प्रदेश नं १ सरकारले मुख्यमन्त्रीको नाममा रहेका कार्यक्रमलाई महत्व दिँदै नीति तथा कार्यक्रम ल्याएको हो । प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा केही महत्वाकांक्षी योजनाहरु धरान–मूलघाट लगायतका क्षेत्रमा सुरुङमार्गको अध्ययन गर्ने लगायतका कार्यक्रम पनि समावेश गरेको छ ।

चालु वर्षको नीति तथा कार्यक्रममा प्रदेशका १४ वटै जिल्लाका ५६ निर्वाचन क्षेत्रमध्ये सबै क्षेत्रमा मुख्यमन्त्री ग्रामीण सडक योजना सञ्चालनको कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिइएको छ ।

त्यसैगरी सुनसरीको धरान र धनकुटाको मूलघाट तथा अन्यत्र पनि सुरुङमार्ग निर्माणका लागि अध्ययन गर्ने योजना समेटिएको छ । त्यसैगरी प्रदेश सरकारले मुलुककै सबैभन्दा होचो भूभाग केचना र विश्वकै सर्वोच्च शिखर सगरमाथालाई सडकले जोड्ने सडकको कार्यक्रमलाई पनि यसपटक निरन्तरता दिएको छ ।

प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रममा कृषि क्षेत्रको यान्त्रिकीकरण, किसानलाई अनुदान दिनेदेखि बाली तथा पशुधनको विमा गर्ने, विश्वविद्यालयहरुसँगको सहकार्यमा किसानलाई तालिम दिनेसम्मका योजना समेटिएका छन् ।

भौतिक पूर्वाधार विकासतर्फको यो योजनालाई प्रदेश सरकारले उच्च प्राथमिकता दिएको छ । त्यसैगरी सरकारको नीति तथा कार्यक्रममा कोसी राजमार्गको स्तरोन्नति, रानी किमाथांका सडक तथा विराटनगर विमानस्थलको स्तरोन्नतिका लागि संघीय सरकारसँग पहल गरिने जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ