जनकपुरधाम, ९ पुस । नेपालमा सबैभन्दा बढी बोलिने दोस्रो भाषा मैथिलीलाई प्रदेश १ र २ मा कामकाजको भाषा बनाउन माग गरिएको छ ।
आइतबार सम्पन्न १६औं अन्तर्राष्ट्रिय मैथिली सम्मेलनमा यस्तो माग गरिएको छ । सम्मेलनले दशबुँदे जनकपुरधाम घोषणापत्रसमेत जारी गरेको हो ।
सम्मेलनले प्रदेश १ र २ मा प्रदेशस्तर र स्थानीय तहका सरकारी, अर्धसरकारी र गैरसरकारी कार्यालयमा मैथिली भाषालाई कामकाजको भाषा घोषणा गर्नुपर्ने माग गरेको घोषणापत्रमा उल्लेख छ ।
नेपालका विद्यालयका पाठ्यक्रममा प्रारम्भिक बाल शिक्षा केन्द्रदेखि कक्षा १२ सम्ममा १०० पूर्णाङ्कको एउटा पत्र मातृभाषा अनिवार्य गर्नुपर्ने र प्रारम्भिक बाल शिक्षादेखि कक्षा ५ सम्म अनिवार्य रूपले मातृभाषाका माध्यमले शिक्षण र विद्यार्थी मूल्याङ्कनको व्यवस्था हुनुपर्ने आवश्यकता सम्मेलनले औँल्याएको छ ।
घोषणापत्रमा नेपालको प्रदेश नं १ र २ मा मुख्य कार्य क्षेत्र कायम गरी देशभर मैथिली भाषाको संरक्षण र सम्वद्र्धनका लागि मैथिली अकादमीको स्थापना गर्नुपर्ने, मैथिली भाषामा पत्रकारिता गर्नेलाई वृत्ति विकासको व्यवस्थाका साथै विद्युतीय सञ्चारमाध्यमलाई राजकीय संरक्षणको टड्कारो उल्लेख छ ।
लोकसेवा आयोगसहित सबै सेवा आयोगमा परीक्षाको माध्यममा मातृभाषा मैथिलीलाई पनि मान्यता दिनुपर्ने, नेपालको संविधान २०७२ मा व्यवस्था गरिएको भाषा आयोगलाई पूर्णता दिँदै आयोगमा मैथिली भाषाका विज्ञलाई समानुपातिक रूपमा समावेशको माग सम्मेलनले गरेको छ ।
तपाईको प्रतिक्रिया