जनकपुरधाम, १५ फागुन । प्रदेश २ प्रदेशसभाको दोस्रो अधिवेशन सम्पन्न भएको छ ।
प्रदेश सचिवालयको अनुसार प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले संसद सचिवालयलाई औपचारिक पत्र पठाएर फाल्गुन १२ गते मध्यरातबाट दोस्रो अधिवेशन समाप्त भएको जनाएको छ ।
जेठ ३ गतेबाट सुरु भएको दोस्रो हिउँदे अधिवेशनमा ४८ वटा बैठक बसेको र १४ वटा विधेयक पारित भएको संसद सचिवालयका उप–सचिव रञ्जित यादवले जानकारी दिए । प्रदेश सभाको पछिल्लो वैठक माघ ४ गते बसेको थियो ।
वैठकमा नेपाली कांग्रेसका सांसदहरूले वीरगञ्जस्थित विपी कोइराला उद्यानमा प्रदेश सरकारले शहीद पार्क निर्माणको लागि शिलान्यास गरेको भन्दै वैठक नै अवरुद्ध गरेको थियो ।
विवादका कारण स्थगित हुन पुगेको प्रदेशसभाको बैठकमा सभामुख सरोजकुमार यादवले अर्को वैठक फागुन १५ गतेका लागि डाकेका थिए ।
तर फागुन १५ गते आउनु अगावै प्रदेश प्रमुख कायस्थले मध्यरातमा पत्र पठाएपछि अब सभामुख यादवले डाकेको वैठक तेस्रो अधिवेशन सुचारु नभएसम्म स्थगित रहने छ ।
हालसम्म प्रदेश सभाले ७ वटा समिति मध्ये ६ वटा समितिको सभापति सर्वसम्मत सभापति चयन गरिसकेको छ भने प्रमुख प्रतिपक्षी दल नेकपाको आन्तरिक विवादको कारण लेखा समितिको सभापति चयन हुन सकेको छैन ।
दुईवटा अधिवेशन सम्पन्न भए पनि प्रदेश सरकारले प्रदेशको नाम, राजधानी र भाषासम्बन्धी विधेयक प्रदेशसभामा अहिलेसम्म पनि पेस गर्न सकेका छैन ।
तपाईको प्रतिक्रिया