जनकपुरधाम, २० माघ । बेटी पढाउ बेटी बचाउ अभियान संचालनमा ल्याएर मुलुकमै चर्चा कमाएको प्रदेश नं. २ को सरकारले छोरीहरुलाई निर्भिक बनाउन सुरक्षित बेटी अभियान संचालनमा ल्याएको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयले महिला हिंसा विरुद्ध शुन्य सहनशिलता, सुरक्षित बेटी हाम्रो प्रतिबद्धता मुल नारा साथ शुरु गरेको सुरक्षित बेटी अभियानको मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले सोमबार औपचारिक शुभारम्भ गरेका छन् ।
अभियानको शुभारम्भ गर्दै मुख्यमन्त्री राउतले समाजिक बनौट र पारिवारिक वातारणले छोरीलाई कमजोर बनाएको उल्लेख गर्दै उनीहरुलाई मजबुत बनाउन घरबाटै पहल गर्नु पर्नेमा जोड दिएका छन् ।
उनले भने, ‘ हाम्रो चिन्तनले नै छोरीलाई कमजोर बनाइ दिएको छ, तसर्थ उनीहरुलाई बलियो बनाउन हामी आफैबाट शुरुवात गर्नु पर्दछ ।’
छोरी जन्मेदेखि नै परिवार र समाजले गर्ने व्यवहारमा परिवर्तन ल्याउनु पर्नेमा जोड दिँदै मुख्यमन्त्री राउतले भने, ‘हामीले भन्न सक्नु पर्दछ, छोरी कमजोर होइन, छोरी बलिया हुन, जे पनि गर्न सक्दछन् ।’
यो अभियानअन्तर्गत जनचेतनामूलक कार्यक्रमहरु, महिला हिंसा विरुद्धको ऐन कानूनबारे जानकारी, आवश्यक कानूनहरुको निर्माण तथा अपराधीलाई कडाभन्दा कडा सजाय दिने जस्ता कार्यक्रम गरिने जनाइएको छ ।
आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मन्त्रीहरु, राज्यमन्त्रीहरु, प्रदेश सभा सदस्यहरु विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया