जनकपुरधाम, १३ माघ । प्रदेश सरकारद्वारा संचालित बेटी पढाउ बेटी बचाउ अन्तर्गतको छोरी शिक्षा बीमा शिबिरमार्फत हालसम्म पाँच हजारभन्दा बढी छोरी बीमित भएका छन् ।
२०७५ माघ १ गते यता जन्मिएका छोरीलाई प्रदेश सरकारले शिक्षा बीमा गरि दिने घोषणा गरे अनुरुप मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाटै अभियान संचालन गरिएपनि प्रभावकारी हुन नसके पछि गत एक वर्षमा जन्मिएका सबै छोरीको बीमा गर्ने उद्देश्यका साथ संचालित शिविर मार्फत माघ १० गतेसम्म पाँच हजार ४० छोरीले बीमा गराएका हुन ।
शिविरमार्फत सप्तरीमा ८८८, सिरहामा ६६३, धनुषामा ३४६, महोत्तरी ६४५, सर्लाही ७६८, रौतहट ४६२, बारा ८०५ र पर्सामा ४६३ छोरीले बीमा गराएका छन् ।
बीमाका लागि आवश्य जन्मदर्ता, स्थानीय तहको सिफारिस, आमा वा बुवामध्ये १ जनाको नागरिकता र बच्चा तथा अभिभावकको ६÷६ थान फोटो आवश्यक रहेको हुँदा प्रदेश सरकारले शिविरमार्फत सबै प्रक्रिया पूरा गर्ने गरि व्यवस्था गरेको छ ।
शिविरमा प्रभु र्बैकका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि तथा वडा सचिवहरु, फोटो ग्राफर एवं मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रतिनिधिको अनिवार्य उपस्थिति रहने गरेको छ ।
माघ २ गते मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले पर्साको वीरगंजका साथै आठवटै जिल्लामा एक साथ शुरु गरिएको शिविर फागुन पहिलो सातासम्म प्रत्येक स्थानीय तहमा संचालन हुनेछ ।
शिविर महानगरमा ४ दिन, उपमहानगरमा ३ दिन, नगरपालिकामा २ र गाँउपालिकामा एक दिन संचालन गरिने व्यवस्था रहेको छ ।
यसका साथै शिविरमा बीमा गराउने बालिकाको परिवारले ३ महिनाका लागि सुविसुको फ्रि इन्टरनेट सेवा समेत पाइरहेका छन् ।
तपाईको प्रतिक्रिया