प्रदेश २ ले कर्मचारी भर्ना प्रक्रिया अघि बढाउँदै

समाचार

4/26/2019

जनकपुरधाम, १३ बैशाख । प्रदेश २ सरकारले कर्मचारी भर्ना प्रक्रिया अघि बढाउने भएको छ ।

संघीय सरकारलाई कर्मचारी अभावका विषयमा पटक–पटक आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएकोले प्रदेश सरकार आफै कर्मचारी भर्ना गर्न लागेको हो ।

प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले कर्मचारी अभावमा विकास निर्माणका काम अलपत्र परेकाले प्रदेश सरकारले कर्मचारी भर्ना गर्ने बताए ।

मन्त्री यादवले भने, ‘हामीले फास्ट ट्रर्याकमा कर्मचारी भर्ना गर्ने तयारी थालेका छौँ ।’ चालू आर्थिक वर्षमा प्रदेश लोकसेवा आयोगको सम्पूर्ण संरचना निर्माण गरेर विज्ञापनसमेत आह्वान गर्ने प्रदेश सरकारले तयारी गरेको छ ।

पहिलो चरणमा कृषि, शिक्षा, इन्जिनियरिङसहितको प्राविधिक, स्वास्थ्य, प्रशासन, कानुनलगायत आठवटा सेवा समूहको विज्ञापन गर्ने तयारी रहेको छ ।

यसअघि वैशाख ३ गते मुख्यमन्त्री लालबाबु राउतले स्थानीय सरकारलाई तत्काल कर्मचारी भर्ना नगर्न पत्राचार गरेका थिए । प्रदेश सरकारले लोकसभा आयोग गठन गरेर आवश्यक कर्मचारी भर्ना गर्ने तयारी थालेको उक्त पत्रमा उल्लेख छ ।

यसअघि प्रदेश सरकारले नेपाल सरकारका पूर्वमन्त्री तथा पूर्वसचिव विद्याधर मल्लिकको संयोजकत्वमा प्रदेश प्रशासनिक संरचनासम्बन्धी आयोग गठन गरेको थियो । आयोगले तयार गरेको प्रतिवेदनमा प्रदेशमा ५ हजार ७३ कर्मचारी आवश्यक रहेको उल्लेख छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ