प्रदेश २ सरकारको विरुद्धमा संघर्ष गर्ने नेकपाको चेतावनी

समाचार

6/17/2019

काठमाडौं, २ असार । प्रदेश २ को सरकार विरुद्ध प्रमुख प्रतिपक्षी नेपाल कमयुनिष्ट पार्टीले संघर्ष गर्ने चेतावनी दिएको छ ।

आइतबार प्रदेश सरकारले प्रस्तुत गरेको बजेट टेबुल गर्दा प्रतिपक्षीहरुलाई नबोलाएको भन्दै प्रदेश सरकारसँग जवाफ माग्ने नेकपाले जनाएको छ ।

सोमबार नेकपाका प्रदेशसभा सदस्य भरत प्रसाद साहले मधेशवाणी रेडियो कार्यक्रमको एक अन्तर्वार्तामा प्रदेश सरकारले बजेट टेबुल गर्दा प्रतिपक्षीहरुसँग डराएर नबोलाएको जिकिर गरेका छन् ।

उनले बजेट टेबुलमा प्रतिपक्षीलाई नबोलाउनु प्रदेश सरकारको हतास मानसिकता रहेको आरोप लगाएका छन् । उनले भने, ‘प्रदेश सरकारले ल्याएको बजेट परम्परागत शैलीकै रहेकोले प्रतिपक्षीहरुले विरोध गर्ने डरले प्रतिपक्षी बिनै बजेट टेबुल गरियो ।’

उनले प्रदेश २ का मन्त्रीहरु भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप लगाउँदै भने, ‘आगामी आर्थिक वर्षको बजेटले मन्त्रीहरुका आसेपासेका का लागि मात्र हो । यसले प्रदेशलाई समृद्धितर्फ डोर्याउँदैन ।’

चालू आर्थिक वर्षको बजेटको २० प्रतिशत पनि प्रदेश सरकार खर्च गर्न नसकेको उनले बताए । असार १५ गतेसम्म योजनाहरु सम्पन्न गरिसक्नुपर्ने प्रावधान रहेपनि अहिलेसम्म करिब १३ प्रतिशत जति मात्र बजेट खर्च भएको दाबी गरे ।

अहिले आर्थिक वर्षको अन्तिम समयमा असारे विकास मात्र हुने उनले बताए । कृषिलाई आधुनिकीकरण गर्ने, खेत–खेतमा पानी, हात–हातमा काम भन्ने नारा लोकप्रियताका लागि मात्र ल्याइएको बताउँदै यसलाई कार्यान्वयन गर्ने ठोस नीति नरहेको जिकिर गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ