काठमाडौँ, २ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको एकान्तकुनामा नेपाल पानी जहाज कार्यालयको उद्घाटन गरेका छन् । भौतिक योजना तथा यातायात मन्त्रालयले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले कार्यालयको स्थापनाले पानीजहाजको शुरुआत र विकासका लागि ढोका खोलेको बताए ।
नेपालमा धेरै नदीमा जल यातायातको सम्भावना रहेकाले नेपाल पूर्णरूपमा भूपरिवेष्ठित देश नभएको उनले औँल्याए । उनका अनुसार भारतको गङ्गा नदीमा नेपालकै नदीबाट सुख्खायाममा ७२ प्रतिशत र वर्षायाममा ४० प्रतिशत पानी नेपालबाट नै जान्छ ।
अहिले रेलभन्दा पनि जलयातायात चाँडो सञ्चालनमा आउने प्रधानमन्त्री ओलीले विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले विसं २०२७ मा नै पानीजहाजको सम्भावनाका बारेमा अध्ययन भएको पाएको बताए । गत वर्ष भारत भ्रमणमा जाँदा आफूले पानीजहाज सञ्चालन र काठमाडौँ–रक्सौल रेलको सम्भावनाका विषयमा छलफल भएको पनि प्रधानमन्त्रीले जानकारी दिए । भारतसँग ‘कनेक्टिभिटी’ (सम्पर्क सञ्जाल) मा नयाँ आयाम थपिएको उनले बताए ।
मन्त्रिपरिषद्को गत पुस २९ गतेको बैठकले उपसचिवको नेतृत्वमा १६ कर्मचारी रहने गरी कार्यालय स्थापनाको निर्णय गरेको थियो ।
तपाईको प्रतिक्रिया