काठमाडौं, १ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपतिमा सुनसरीका प्रा.डा. देवनारायण साहलाई नियुक्त गरेका छन् ।
उपप्रधान तथा स्वास्थ्यमन्त्री एवं न्याम्स्का सहकुलपति उपेन्द्र यादवको सिफारिसमा प्रधानमन्त्री एवं न्याम्सका कुलपति ओलीले साहलाई शुक्रबार नियुक्त गरेका हुन् ।
यसैगरी, उपकुलपति साहको सिफारिसमा उपप्रधान तथा स्वास्थ्यमन्त्री यादवले न्याम्सका अन्य पदाधिकारीको पनि नियुक्ति गरेका छन् ।
जसअनुसार पर्साका प्रा.डा. सुबोध कुमार अधिकारीलाई शिक्षाध्यक्ष, पाँचथरकी प्रा.प्रमिला देवानलाई रजिस्टार, सुनसरीका प्रा.डा.पियुस दाहाल डिन र सप्तरीका डा.केदार प्रसाद सेन्चुरीलाई बीर अस्पतालको निर्देशकमा नियुक्ति गरिएको छ ।
सबैको पदावधि चार वर्षको हुनेछ । प्रधानमन्त्री ओलीको उपस्थितिमा उपप्रधान तथा स्वास्थ्यमन्त्री यादवले उपकुलपति साहलगायत सबैलाई बालुवाटारमा पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् ।
सपथपछि प्रधानमन्त्री ओलीले भक्तपुरमा वीर अस्पताल निर्माण गर्ने कार्य तत्काल अघि बढाउन निर्देशन दिएका छन् । “५ सय रोपनी क्षेत्रफलमा भक्तपुरमा सुविधा सम्पन्न अस्पताल बनाउने कार्य तत्काल थालनी गर्नुहोस् । त्यो काम तपाईंहरुकै कार्यकालमा सम्पन्न हुनुपर्दछ ।”
प्रधानमन्त्री ओलीले भने “अहिलेको वीर अस्पताललाई सिटी अस्पतालको रुपमा सञ्चालन गर्नुपर्दछ ।”
प्रधानमन्त्री ओलीले वरिष्ठ डाक्टरहरुले अस्पतालमा बिरामीको उपचार नगर्ने गलत संस्कार बसेकोले त्यसलाई तोड्न निदेर्शन दिए ।
“सिनियर भएपछि काम गर्नुनपर्ने गलत संस्कारको विकास भएको देखिन्छ । सिनियरको अनुभवले बिरामीको उपचार गर्दा त्यसबाट बिरामीले पाउने लाभ अधिक हुन्छ” प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्री ओलीले स्वास्थ्यकर्मीहरुलाई बिरामीलाई गर्ने व्यवहार सुधार गर्न आग्रह गरेका छन् । “डाक्टर नर्सले बिरामीप्रति मायालु व्यबहार गर्नुहोस्, तपाईंको व्यवहारले बिरामीले राहात महसुस गर्नुपर्दछ” प्रधानमन्त्री ओलीको भनाइ छ ।
तपाईको प्रतिक्रिया