काठमाडौं, ७ माघ । प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले विराटनगरमा निर्माण भएको एकीकृत जाँच चौकी (आइसिपी) को भिडियो कन्फरेन्समार्फत उद्घाटन गरेका छन् ।
आईसीपीको उद्घाटनपछि नेपालबाट सामान बोकेको ट्रक भारततर्फ जाने र भारतबाट पनि सामान बोकेको ट्रक नेपाल भित्रिएका छन् ।
हाल मालबाहक सवारी मात्रै आवत–जावत गर्ने भए पनि चाँडै यात्रुसमेत एकीकृत जाँच चौकीबाटै आवत–जावत गर्ने व्यवस्था मिलाइने नेपाल इन्टरमोडल ट्रान्सपोर्ट डेभलपमेन्ट बोर्डका डेपुटी निर्देशक हरिकृष्णा मिश्राले जानकारी दिए ।
यस्तै, रेलबाट समेत सामान आयात–निर्यात गर्न आवश्यक पूर्वाधारको विकास पनि गर्ने तयारी भइरहेको उनले बताए ।
दुई महिना पहिले नै आइसिपीको निर्माण सम्पन्न भए पनि उद्घाटन मोडलको विषयमा टुंगो नलाग्दा सञ्चालनमा आउन ढिलो भएको हो ।
आइपिसी सञ्चालनमा आएपछि पूर्वको व्यापार सहजीकरणमा सहयोग पुग्ने विराटनगरका उद्योगी, व्यवसायीले बताएका छन् ।
नेपाल र भारत दुवै देशको एउटै स्थानमा भन्सार सञ्चालनमा आउने भएकाले व्यवसायीले अनावश्यक झन्झट बेहोर्नुपर्ने छैन ।
आइसिपीले नेपालबाट भारत निर्यात हुने वस्तुहरू निर्यातमा समेत सहज हुनेछ । दुवै देशको साझा ल्याब पनि हुने भएकाले नेपालबाट कृषि तथा पशुजन्य वस्तु निर्यात गर्नसमेत सजिलो हुनेछ ।
भारततर्फको जाँच चौकी भने दुई वर्ष पहिले नै निर्माण सम्पन्न भइसकेको थियो । नेपाल सरकारले २०७३ मंसिर २० गते जग्गा भारत सरकारलाई हस्तान्तरण गरेपछि चौकी निर्माण सुरू भएको थियो ।
एक सय २९ बिघा क्षेत्रफलमा बनेको जाँच चौकीमा कार्गो भवन, यात्रु टर्मिनल भवन, मुद्रा सटही सुविधा, इन्टरनेट, वेयरहाउस, कोल्ड स्टोरेज, क्वारेन्टाइन, क्लियरिङ एजेन्ट, सिसिटिभी, पार्किङ,रेस्टुरेन्ट, बैंकर अन्य सार्वजनिक सुविधाको व्यवस्था गरिएको छ ।
इलेक्ट्रिक सब–स्टेसन, वे ब्रिजलगायत सुविधा आइसिपीमा उपलब्ध छ । भन्सार जाँच चौकी सञ्चालनमा आएपछि भारतर तेस्रो मुलुकको आयात–निर्यात सहज, सरलर व्यवस्थित हुने पूर्वका आयात–निर्यातकर्ताको अपेक्षा छ ।
तपाईको प्रतिक्रिया