काठमाडौं, २ माघ । मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष जनरल विपिन रावतको औपचारिक निमन्त्रणामा भारत भ्रमणमा रहेका प्रधानसेनापति पूर्णचन्द्र थापाले ६ दिने भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फिर्ता भएका छन् ।
प्रधानसेनापति थापालार्ई बलाधिकृत रथी हेमन्त राज कुँवरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए भने नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थितिमा उको सम्मानमा जङ्गी अड्डामा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।
नेपाल सरकारको निर्णय बमोजिम भारत भ्रमणको क्रममा पुस २८ गते प्रधानसेनापति थापालाई भारतका राष्ट्रपति रामनाथ कोविन्दले भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जा प्रदान गरेका थिए ।
भ्रमणको क्रममा प्रधानसेनापति थापाले भारतीय सेनाका समकक्षी स्थल सेनाध्यक्ष जनरल रावतसँग भेटघाट गर्नुको साथै नयाँदिल्लीस्थित नेशनल डिफेन्स कलेज, जयपुरस्थित साउथ–वेस्टेर्न कमाण्ड र लखनऊस्थित सेन्ट्रल कमाण्डको मुख्यालयहरुको निरीक्षण भ्रमण समेत गरेका थिए ।
यस किसिमको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमण र दुई देशको सेनाका प्रधानसेनापतिलाई मानार्थ महारथीको उपाधिद्वारा सुशोभित गर्ने परम्पराबाट नेपाली सेना र भारतीय सेनाबीच विगतदेखि रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धले निरन्तरता पाउनुका साथै द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धलाई थप सुमधुर एवम् प्रगाढ बनाउन महत्वपूर्ण भएको विश्वास नेपाली सेनाले लिएको छ ।
तपाईको प्रतिक्रिया