काठमाडौं, ६ बैशाख । नेपाली सेनामा कार्यरत सकलदर्जाले आफू बहाल रहँदा वा सेवानिवृत्त भइसकेपछि पनि गर्न हुने र नहुने व्यवहारिक आचरणहरुका बारेमा सुसूचित गरी सकलदर्जालाई शिक्षित बनाउने उद्देश्यले शुक्रबारदेखि ऐ. एक हप्तासम्म संचालन हुन गइरहेको सैनिक आचार संहिता २०७६ को सप्ताह कार्यक्रमलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले आरम्भ गरेका छन् ।
शुक्रबार एक विशेष समारोहकाबीच जङ्गी अड्डास्थित श्री त्रिभुवन आर्मी अफिसर्स क्लबको सभामण्डप हलमा प्रधानसेनापति थापाले शुभारम्भ गरेका छन् ।
‘आचार संहिताको सप्ताह ः सैनिक सदाचारको उत्साह’ भन्ने मूल नाराका साथ संचालन भएको उक्त कार्यक्रममा प्रधानसेनापति थापाले सकलदर्जालाई सम्बोधन गर्दै संगठनको गरिमामय इतिहास, पूर्खाहरुको वीरता, विगतमा राष्ट्रलाई आवश्यक परेको समयमा नेपाली सेनाले निर्वाह गरेका विविध जिम्मेवारीहरु एवम् अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमा पुर्याएको योगदान नै नेपाली सेनाप्रति नेपाली जनताको विश्वासका मुख्य आधारहरु भएको बताएका छन् ।
यी सबै कार्य सम्पादनार्थ सकलदर्जाले प्रदर्शन गरेको निःस्वार्थ सेवाभाव, व्यावसायिक चरित्र, उच्च अनुशासन र आचरण महत्वपूर्ण रहेको उनले बताए ।
साथै, उनले नेपाली सेनामा सैनिक आचार संहिताको आवश्यकता र महत्वबारे प्रकाश पार्दै यो आचार संहिता सकलदर्जालाई शिक्षित गराउनका लागि सेनाका सबै युनिटहरुमा प्रत्येक वर्षको बैशाख महिनाको पहिलो हप्तामा संचालन गरिने र यसरी शिक्षित गर्दागर्दै पनि आचार संहिता विपरित कार्य गर्ने जो कोहीलाई सैनिक ऐनअनुसार कारबाही गरिने समेत प्रष्ट्याएका छन् ।
कार्यक्रमकै दौरानमा, प्रधानसेनापति थापाले सैनिक आचार संहिता संग्रह–२०७६ र सो सम्बन्धी तयार गरिएको ब्रोसर विमोचन गरेका थिए ।
सोहि अवसरमा सैनिक आचार संहिता सम्बन्धी तयार गरिएको डकुमेन्ट्री समेत प्रदर्शन गरिएको थियो ।
उक्त आचार संहिता सप्ताहले सकलदर्जालाई थप शिक्षित, सचेत, अनुशासित, इमान्दार र कर्तव्यनिष्ठ बनाउने विश्वास नेपाली सेनाले लिएको छ ।
प्रधानसेनापति थापाको उपस्थितिमा जंगी अड्डामा कार्यरत रथीवृन्दले जङ्गी अड्डालाई थप सुव्यवस्थित एवं पर्यावरण मैत्री बनाउने उद्देश्यका साथ नयाँ वर्ष एवं सैनिक आचार संहिता २०७६ सप्ताह शुभारम्भको उपलक्ष्यमा विभिन्न जातका फलफूलका विरुवाहरुको बृक्षारोपण समेत गरेका थिए ।
तपाईको प्रतिक्रिया