प्रधानसेनापति थापा भारत जाने

समाचार

12/26/2018

काठमाडौं, ११ पुस । भारतीय सेनाध्यक्षको मानार्थ दज्र्यानी चिह्न ग्रहण गर्न प्रधानसेनापति पूर्णचन्द्र थापा औपचारिक भारत भ्रमणमा जाने भएका छन् ।

भारतीय सेनाको निमन्त्रणामा पुस २७ गते उनी नयाँ दिल्ली जाने तय भएको छ । नेपाली सेनाका प्रवक्ता गोकूल भण्डारीले प्रधानसेनापति थापाको भारत भ्रमणको तयारी भइरहेको बताए ।

६ दिने भ्रमणमा उनले उच्चस्तरीय भेटघाटका साथै सैनिक तालिम केन्द्रसमेत निरीक्षण गर्नेछन् । उनी माघ २ मा फर्कनेछन् । प्रधानसेनापतिमा नियुक्तिपछि उनको यो पहिलो विदेश भ्रमण हो ।

भारतमा उनले रक्षामन्त्री निर्मला सीथारमन, समकक्षी रावतसहित वरिष्ठ सैनिक अधिकारीसँग भेट गर्नेछन् ।

भारतका राष्ट्रपति रामनाथ कोविन्दले राष्ट्रपति भवनमा हुने विशेष समारोहमा प्रधानसेनापति थापालाई भारतीय सेनाध्यक्षको मानार्थ दज्र्यानीचिह्न प्रदान गर्ने छन् ।

भारतीय सेनाध्यक्ष विपिन रावत पनि नेपाली सेनाको मानार्थ सेनापति छन् । सन् १९५० देखि नेपाल–भारत दुवै देशका प्रधानसेनापतिलाई आपसमा मानार्थ प्रधानसेनापति उपाधी दिने परम्परा सुरु भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ