राकेश यादव, रौतहट, ४ मंसिर । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका ५ स्थित माउन्ट एभरेस्ट आवासीय माध्यमिक विद्यालयका प्रबन्धक उमेश प्रसाद बास्कोटा र लेखापाल अनन्त कुमार चौधरीले ३ करोडभन्दा बढी रकम हिनामिना गरेको खुलेको छ ।
विद्यालयका लेखा समिति संयोजक प्रेम शंकर मिश्राले जारी गरेको प्रतिवेदनका अनुसार प्रबन्धक बास्कोटा र लेखापाल चौधरीले आर्थिक वर्ष २०६७।०६८ देखि ०७४।०७५ सम्मको माउन्ट एभरेस्ट आवासीय माध्यमिक विद्यालय तथा माउण्ट एभरेस्ट एजुकेशन फाउंडेशन प्रा लिको आर्थिक कोषको जिम्मेवारी लिएर ३ करोड़ १२ लाख २८ हजार ३ सय ८२ रुपैयाँ अनियमिता गरेको ठहर गरेको छ ।
प्रवन्धक बास्कोटाले विद्यालयको ७ कठा ४ धुर जग्गा आफ्नो नाममा गराई मेगा बैंक सर्लाही शाखाबाट रोक्का गराएकोमा सिघ्र फुकुवा गराई विद्यालयको नाममा नामसारी गराउनु पर्ने बैठकबाट निर्णय भएको प्रतिबेदनमा उल्लेख गरिएको छ ।
विद्यालयको शेयर धनिहरुमा उमेश प्रसाद बास्कोटा, हरी प्रसाद घिमिरे, एकनाथ चौलागाई, अच्युतम होमागाई, महेश उपाध्याय, विश्वामित्र प्रसाद रिजाल, अनन्त कुमार अधिकारी, हरेन्द्र राय यादव, बसंती खडका, पदम् बहादुर ढकाल, ईश्वरी काफ्ले, प्रमोद घिमिरे, माधवलाल श्रेष्ठ, प्रेमशंकर मिश्रा, केदार बहादुर श्रेष्ठ र सुन्दर राज चालिसे गरी १६ जना रहेको लेखा समितिको प्रतिवेदनमा लेखिएका छन् ।
लेखा समितिले प्रबन्धक बास्कोटा र लेखापाल चौधरीलाई शेयरधनिहरुलाई बोलाई बैठक बसाई हिसाव किताब सार्वजनिक गर्न भन्दा पनि अटेर गरी बसेको आरोप लगाएको छ ।
असोज ६ गतेमा माधवलाल श्रेष्ठको अध्यक्षतामा बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले प्रवन्धक बास्कोटालाई बोलाउने निर्णय गरेपनि बास्कोटा अहिलेसम्म आउन नसकि मोबाइल बन्द गरेर सम्पर्कविहीन अवस्थामा रहेको शेयरधनिहरुले बताएका छन् । यस विषयमा प्रतिक्रिया लीन खोज्दा बास्कोटा चौधरीको मोबाइल बन्द रहेकोले सम्पर्क हुन सकेको छैन ।
तपाईको प्रतिक्रिया