पर्यटकीय पूर्वाधार विकास प्रदेशको जिम्मेवारी : मुख्यमन्त्री राउत

समाचार

12/27/2019

जनकपुरधाम, ११ पुस । मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीले प्रदेशभित्र पर्यटकीय पूर्वाधार विकासको जिम्मेवारी प्रदेश सरकारको रहेको बताएका छन् ।

नेपाल भ्रमण वर्ष २०२० प्रदेश २ को जिल्ला स्तरीय समन्वय समिति भेलाको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले प्रदेशभित्र रहेको ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा प्राकृतिक सम्पदाहरुको पूर्वाधार विकासमा प्रदेश सरकार गम्भीर रहेको बताए ।

उनले विकास निर्माणको जिम्मा प्रदेश सरकारले लिने भए पनि प्रचार प्रसार लगायतको क्षेत्रमा सक्रिय भूमिका समन्वय समितिका पदाधिकारीहरुलाई लिन आग्रह गरे ।

उनले भने, ‘ प्रदेशमा जानकी मन्दिरसहित हिन्दू, इस्लाम, बौद्ध, ज्रैन र शिख धर्मावलम्बीहरुका पनि थुप्रै धार्मिक स्थलहरु छन्, त्यसको प्रचार प्रसार हामीले गर्नु पर्दछ । त्यती मात्र गर्न सकिए पर्यटनको क्षेत्रमा हामी ठूलो फड्को मार्छौ ।’

विगतमा सरकारको उदासीनताका कारण यस प्रदेशका पर्यटकीय क्षेत्रहरुको विकास हुन नसकेको गुनासो गर्दै मुख्यमन्त्री राउतले भने, ‘जानकी मन्दिरबाटै प्रदेश सरकारले पर्यटकीय पूर्वाधार विकासको काम सुरु गरिसकेको छ । यसै वर्ष सप्तरीको सखडा मन्दिर, सिरहाको सलहेस फुलवारी, महोत्तरीको रौजा मजार, पर्साको भिष्वा डाडा सहितको स्थानमा गुरुयोजना सहित काम सुरु हुन्छ ।’

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री एवं पर्यटन वर्ष २०२० का प्रदेश अध्यक्ष रामनरेश रायको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेश सभा सदस्यद्वय राम अशिष यादव, परमेश्वर साह, नीति आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा, जनकपुरका पूर्वमेयर बजरंग साह, नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्र, नेपाल भ्रमण वर्ष २०२० का प्रदेश संयोजक मनिष झा सहितका वक्ताहरुले सम्बोधन गरेका थिए ।

कार्यक्रममा आठै जिल्लाका समन्वय समितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ