काठमाडौं, ११ फागुन । ताप्लेजुङमा भारतीय पर्यटक आकर्षित गर्न महोत्सव सुरु भएको छ । ताप्लेजुङ सदरमुकाम फुङलिङमा महोत्सव सुरु भएको हो ।
महोत्सवमै १० हजार भारतीय पर्यटक ल्याउने लक्ष्य रहेको आयोजक समितिका संयोजक तारानाथ घिमिरेले बताए। घिमिरेका अनुसार फागुन १३ गतेसम्म चल्ने महोत्सवले झापाको केचनादेखि ताप्लेजुङको ओलाङचुङगोलासम्म पर्यटकीय क्षेत्रको प्रचारमा सघाउ पुग्नेछ ।
‘मेचीका चार जिल्लालाई भारतीय पर्यटकको आकर्षणको केन्द्र बनाउने लक्ष्य हो’, घिमिरेले भने, ‘जसका लागि भारतको सिक्किम, दार्जि्लिङ, विहारलगायत स्थनमा गएर प्रचार र निम्ता गरेका छौं ।’
हाल पाथीभरामा वार्षिक १ लाख हाराहारी भारतीय पर्यटक पुगिरहेका छन् । महोत्सवपछि त्यो संख्या बढ्ने विश्वास आयोजकको छ ।
सूर्योदयको आकर्षक दृश्य देखिने इलामको अन्तुडाँडा, कन्याम, माइपोखरी, टोड्के झरना, पाँचथरको साधुटार, सिलौटी, ऐतिहासिक महत्व बोकेको हिलिहाँङ दरबारलगायत थुप्रै पर्यटकीय स्थलको प्रवद्र्धनका लागिसमेत महोत्सवले योगदान गर्ने आयोजकको दावी छ ।
तपाईको प्रतिक्रिया