चितवन, १९ माघ । कंकाली माध्यमिक विद्यालयका पूर्वविद्यार्थीहरुले आफूहरुलाई पढाएका शिक्षक पशुपतिलाल कर्णका लागि घर बनाइदिने भएका छन् ।
विद्यालयको स्वर्ण महोत्सवको अवसरमा पूर्वविद्यार्थी समाजबाट आयोजित पूर्व शिक्षक सम्मान तथा विविध साँस्कृतिक कार्यक्रममा गुरु आवास अभियान कार्यक्रम घोषणा गरिएको हो ।
सम्पूर्ण पूर्व विद्यार्थीहरुको प्रतिनिधित्व गर्दै समाजका अध्यक्ष अर्जुन लम्साल र उपाध्यक्ष लाल प्रसाद चालिसेबाट संयुक्त रुपमा ब्यानर अनावरण गरेर घोषणा गरिएको हो ।
कंकाली माध्यमिक विद्यालयमा २०२७ सालदेखि २०६९ सालसम्म ४२ वर्ष निरन्तर सेवा गरेका पशुपतिलाल कर्णले विद्यालयको गेट अगाडि सात धुर बराबरको घडेरी किनेको तर उक्त घडेरीमा घर बनाउन नसकेको कुरा पूर्व विद्यार्थीहरुले जानकारी पाएपछि उनको घर बनाइदिने निर्णय गरेका छन् ।
कार्यक्रम घोषणा गरिएकै दिन विद्यालयमा उपस्थित पूर्वविद्यार्थीहरुले ६ लाखभन्दा बढी रकम संकलन गरिसकेका छन् ।
हाल काठमाडौंमा रहने गरेका पूर्वविद्यार्थी विजय बुर्लाकोटीले गुरु आवास अभियानका लागि दुई लाख, हाल क्यानडामा रहने पूर्वविद्यार्थी अमित डल्लाकोटीले पच्पन्न हजार, खैरहनी १, निवासी समाजसेवी पूर्वविद्यार्थी अशोक पाठकले एकाउन्न हजार लगायत उपस्थित पूर्वविद्यार्थीहरुबाट करीब ६ लाख रुपैयाँ संकलन भएको समाजका उपाध्यक्ष लालप्रसाद चालिसेले जानकारी गराए ।
पूर्व विद्यार्थी समाजले विद्यालयको स्वर्ण महोत्सवको अवसरमा स्वर्ण स्तम्भ समेत निर्माण गरेका छन् ।
मनोरञ्जनका लागि उपस्थित राष्ट्रिय गायक मिलन लामाले कंकाली माविका पूर्व विद्यार्थीहरुले आफ्ना गुरुप्रति गरेको सम्मान देखेर भावुक हुँदै आफूले पाएको पारिश्रमिक पशुपति सरको आवास निर्माणमा सहयोग गरेका छन् ।
आफूले गीत गाएरै गरीब र पिडितहरुका लागि १२ वटा घर बनाउन सफल भएको बताउँदै चेलाहरुले गुरुप्रति देखाएको सम्मानले आफ्नो मन छोएका बताए ।
शुक्रबार भएको कार्यक्रममा पूर्वशिक्षकहरु शिवलाल अधिकारी, रमण प्रसाद पाठक, वसन्त प्रसाद लामिछाने, नारायणदत्त उपाध्याय, श्याम बहादुर ढुंगाना, लोकनाथ शर्मा, बालकृष्ण रेग्मी, पंकज कुमारी नेपाल, रामेश्वर पोखरेल, टेकनाथ अधिकारी, चिरञ्जीवी खनाल, चेतनाथ रिमाल, भीम बहादुर थापा, शिवराज चालिसे, अम्बिका लिम्बु लगायत पूर्व शिक्षकहरुलाई पूर्व विद्यार्थी समाजले सम्मान गरेका छन् ।
साथै स्वर्णस्तम्भ निर्माणका लागि आर्थिक सहयोग गर्ने पूर्व विद्यार्थीहरुलाई पनि सम्मान गरिएको छ ।
कार्यक्रममा विद्यालयका संस्थापक प्रअ पशुपतिलाल कर्ण, विव्यस अध्यक्ष कृष्णराज ढुंगाना, प्रअ अञ्जना आचार्य, निवर्तमान प्रअ शिवलाल अधिकारी, पूर्व शिक्षकहरु रामेश्वर पोखरेल, श्यामबहादुर ढुंगाना लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
तपाईको प्रतिक्रिया