सर्लाही, ५ असार । लालबन्दी नगरपालिका १ लखनदेहीस्थित जंगलको बाटोमा प्रहरीको जवाफी कारवाहीमा परी सर्लाही बागमती नगरपालिका २ बस्ने ४७ वर्षीय कुमार पौडेलको बिहीबार घटनास्थलमै मृत्यु भएको छ ।
हातहतियार सहितका अज्ञात व्यक्तिहरु जंगलको बाटो भई सिन्धुली सर्लाही आवतजावत गर्ने गरेको भन्ने सूचना समेतको आधारमा उक्त जंगलबाटो एरियामा प्रहरी परिचालन गरी निग्ररानी बढाउन सुरु गरेकोमा आज बिहीबार दिउँसो उक्त जंगलतर्फको बाटोबाट सिन्धुलीतर्फ ना.२२ प ६४ नम्बर र अनटेष्ट लेखेको समेत गरी २ वटा मोटरसाइकलमा जाँदै गरेको अवस्थामा प्रहरीलाई देख्नासाथ उल्लेखित मोटरसाइकलमा आएका व्यक्तिहरुले प्रहरीतर्फ फायर गरेकोले प्रहरीले प्रतिफायर गर्दा मोटरसाइकलमा सवार मध्ये पौडेलको घटनास्थलमै मृत्यु भएको हो ।
३ जना व्यक्तिहरु मोटरसाइकल छाडी फायर गर्दै जँगलतर्फ फरार भएका छन् ।
घटनास्थलबाट उक्त २ थान मोटरसाइकल, कटुवा पेस्तोल १ थान, युएस मेड रिबल्बर १ थान, डेटकर्ड १ थान (५ मिटर), फ्युज वायर ३ मिटर, झोला १ थान, जनक्रान्ति किताब १ थान र अखिल नेपाल भूमिसंघको खाली परिचयपत्र २ सय थान बरामद भएको छ ।
तत्काल फरार ३ जनाको खोजी गर्नुका साथै थप प्रहरी परिचालन गरी घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
तपाईको प्रतिक्रिया