प्रहरी निरीक्षक आधारभूत तालिमका प्रशिक्षार्थीहरुसँग अन्तरक्रिया

समाचार

4/19/2019

धनुषा, ६ बैशाख । प्रदेश २ प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायव महानिरीक्षक हरि बहादुर पाल र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा संचालित प्रहरी निरीक्षक आधारभूत तालिम १७९औँ समूहका प्रशिक्षार्थीहरुबीच बिहीबार अन्तरक्रिया एवं छलफल कार्यक्रम सम्पन्न भएको छ ।

प्रशिक्षणको क्रममा देश दर्शनकालागि सगरमाथा वेश क्याम्प पुगेर फर्किएको उक्त प्रशिक्षार्थीहरुको टोलीसँग प्रहरी नायव महानिरीक्षक पालले जनकपुरमा छलफल एवं अन्तरक्रिया गरेका हुन् ।

अन्तरक्रिया तथा छलफलको क्रममा प्रहरी नायव महानिरीक्षक पालले देशदर्शन कार्यक्रमले प्रशिक्षार्थीहरुमा भौगोलिक अवस्था, स्थानीय सामाजिक(साँस्कृतिक तथा आर्थिक अवस्थाहरुको बारेमा ब्यबहारिक ज्ञान प्राप्त हुने बिश्वास ब्यक्त गरे ।

देश दर्शनका माध्यमबाट हासिल गरेको अनुभब तथा व्यावहारिक ज्ञानलाई तालिमको मार्गदर्शकको रुपमा लिनु पर्ने चर्चा गर्दै प्रहरी नायव महानिरीक्षक पालले प्रहरी सेवाप्रति अझ बढी लगाव र सकारात्मक सोचको बिकाश भई संगठनले अपेक्षा गरेको नागरिकमैत्री एंवम सक्षम प्रहरी अधिकृत बन्न सघाउने समेत बताए ।

अनुशासन नै व्यावसायिक सफलताको कडी भएकोले प्रशिक्षार्थीहरुले उच्च अनुशासनमा लगनशील भई तालिम सम्पन्न गर्नुपर्नेमा उनले जोड दिए ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज, काठमाडौंमा २०७५ असार ३ गतेबाट संचालित प्रहरी निरीक्षक आधारभूत तालिम १७९ औँ समूहका प्रशिक्षार्थी प्रहरी निरीक्षकहरु तालिममा समावेश पाठ्यक्रम अनुसार २०७५ चैत्र २४ गतेदेखि २०७६ बैशाख ७ गतेसम्म देश दर्शनको क्रममा सगरमाथा बेश क्याम्प पुगी बिहीबार जनकपुर आई पुगेका थिए ।

कार्यक्रममा प्रहरी अधिकृत तथा उक्त तालिमका प्रशिक्षक ५ र प्रशिक्षार्थी ३० जना गरी ३५ जनाको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ