काठमाडौँ, १५ फागुन । पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी शुरू भएको छ । शिवरात्रिमा पशुपतिनाथ दर्शन गर्न आउने दर्शनार्थीका लागि सहज व्यवस्था मिलाउन पशुपति क्षेत्र विकास कोषले यस वर्ष आठ उपसमिति गठन गरी तयारी शुरू गरेको छ ।
तयारीका क्रममा रङरोगन, बत्ती व्यवस्था, सुरक्षालगायत तयारी तीव्ररूपमा अघि बढेको छ । कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाको संयोजकत्वमा सुरक्षा/दर्शन व्यवस्था, कोष सञ्चालक परिषद् सदस्य भगवतीप्रसाद देवको संयोजकत्वमा चन्दन, मन्दिर प्राङ्गण तथा रात्रिकालीन व्यवस्था र स्वयंसेवा परिचालन अनुगमन तथा पास व्यवस्था उपसमितिको गठन गरिएको छ ।
यस वर्ष भारतबाट आउने पर्यटक पनि बढी हुने अनुमान गरिएको छ । इलाहावादस्थित प्रयागराजमा भएको कुम्भमेला लगत्तै महाशिवरात्रि परेकाले भारतीय पर्यटक बढ्ने कोषले जनाएको छ ।
यस वर्ष शिवरात्रिको अवसरमा ११ लाखभन्दा बढीले मूल मन्दिरभित्रै प्रवेश गरेर पूजाआजा एवं दर्शन गर्ने तयारी गरिएको छ । महाशिवरात्रि नजिकिँदै गर्दा साधुसन्त आउने क्रम पनि बढ्दै गइरहेको कोषले जनाएको छ । कोषले मलेसिया र भारतबाट आउने दर्शनार्थीलाई निःशुल्क खानाको व्यवस्था मिलाएको छ ।
तपाईको प्रतिक्रिया