राजदेवी–९ मा बजेट फ्रिज हुने संकेत

समाचार

6/6/2019

राकेश यादव, रौतहट, २३ जेठ । रौतहटको राजदेवी नगरपालिका वडा नम्बर ९ ब्रह्मपुरीमा चालू आर्थिक वर्ष २०७५/०७६ को बजेट फ्रिज हुने सम्भावना बढेको छ ।

गएको आर्थिक वर्षमा ७२ लाख फ्रिज भएकोमा यस आर्थिक वर्षमा १ करोड़ रकम फ्रिज हुने अवस्था रहेको हो । राजनीतिक खीचातानीको कारण विकासका योजना कार्यान्वयन गर्न समस्या भएकोले बजेट फ्रिज हुने निश्चित रहेको छ । अहिलेसम्म एउटा पनि योजनाको कार्यान्वयन प्रक्रिया अघि बढाइएको छैन ।

नगर प्रमुख धीरेन्द्र कुमार सिंह र उपप्रमुख अंशु सिंह सोही वड़ाको निवासी भए पनि बजेट कार्यान्वयन हुन सकिरहेको छैन । मेयर नेपाली कांग्रेस तथा उपमेयर र वडा अध्यक्ष समाजवादी फोरमबाट निर्वाचित भएकोले सहमति नमिल्नुको कारण यस्तो अवस्थाको सिर्जना भएको हो ।

उपमेयर र वडा अध्यक्ष पुलिंद्र दासले नगर प्रमुखको कारण बजेट फ्रिज हुने आरोप लगाउँदै आएका छन् भने नगर प्रमुख सिंहले उपमेयर तथा वडा अध्यक्षको कारण गत वर्ष तथा चालू वर्षमा बजेट फ्रिज हुने दावी गरेका छन् । उपभोक्ता समिति गठन गर्नलाई नगरपालिकाबाट पत्राचार गरे पनि वडा अध्यक्षले कार्यान्वयन गर्न नसकेको आरोप मेयर सिंहको रहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ