काठमाडौं, ९ माघ । सरकारले गरेको सम्झौताअनुसार भुक्तानी नपाएको भन्दै सर्लाहीका उखु किसान पुनः आन्दोलित बनेका छन् । उनीहरुले सरकार आफैँले गरेको सम्झौता आफैँले कार्यान्वयन नगराएको भन्दै खेदसमेत प्रकट गरेको छ ।
उखु किसान संघर्ष समितिले मलंगवामा पत्रकार सम्मेलन गरी दुई दिनमा सरकारले किसानको खातामा पैसा जम्मा नगरे विभिन्न चरणका आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ । सरकारले किसानको माग तत्काल सम्बोधन गरेर भुक्तानी नगरे कडा आन्दोलनमा उत्रिने समितिका संरक्षक राकेश मिश्रले बताए । पत्रकार सम्मेलनमा किसानहरूले उद्योगीले जस्तै सरकारले पनि आफूहरूलाई झुक्याएको आरोप लगाए ।
सरकार किसानप्रति कठोर बनेर उद्योगीप्रति उदार बनेको संघर्ष समितिका अध्यक्ष रामस्वार्थ रायले आरोप लगाए । किसानलाई थाहै नदिई उद्योगीलाई मन्त्रालयमा भेट्न बोलाएर सहमति गरेको भन्दै उनले असन्तुष्टि पनि व्यक्त गरे ।
बिहीबारसम्मसहमतिअनुसार माग पूरा नभए माघ १० गते कृषकले कालोपट्टी बाँधेर खेतमा काम गर्ने, ११ देखि १७ गतेसम्म गाउँ–गाउँमा किसान जनजागरण अभियान गर्ने र १८ गते गोडैता नगरपालिकामा भुक्तानी नपाएका किसानहरूको बृहत भेला गरेर काठमाडौं केन्द्रित आन्दोलन गर्ने संघर्ष समितिले जनाएको छ ।
सर्लाहीका उखु किसानले सरकारले दिने भनेको अनुदान बापतको ३५ करोड पाउन सकेका छैनन् । विभिन्न चिनी उद्योगले भुक्तानी गरेको भनिएको रकम पनि सामान्य किसानको जस्ताको तस्तै राखेर ठेकेदारको मात्र भुक्तानी गरिएको आरोप संघर्ष समितिको छ ।
तपाईको प्रतिक्रिया