फुसको घर हटाउने अभियानको थालनी

समाचार

6/15/2019

कपिलवस्तु, ३२ जेठ । बुद्धभूमि नगरपालिकाले नगरपालिका क्षेत्रमा रहेका गरिब तथा विपन्न समुदायका नागरिकहरुको फुस तथा खरले निर्माण भएका घरहरु हटाउने अभियान थालनी गरेको छ ।

विपन्न तथा गरिबलाई घर तथा फुसको छानो हटाई जस्तापाताबाट घर निर्माण गर्ने अभियानको सुरुवात गरिसकेको छ । जसअन्र्तरगत वडा नं १ भेलाबाट सो कामको सुरुवात गरेको छ ।

वडा नं. १ ले विपन्न, गरिब तथा दलित परिवारको घरमा जस्तापाता लगाइदिने अभियानको थालनी गरेको छ । वडाभित्र रहेको फुसका छाना विस्थापित गर्ने उद्देश्यअनुरुप शुक्रबारबाट वडाले जस्तापाता लगाइदिने अभियानको सुरुवात गरेको हो ।

शुक्रबार वडा कार्यालयबाट १० घरपरिवारलाई वडाले जस्तापता वितरण गरेको छ । कार्यक्रमको नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले शुभारम्भ गरे ।

वडाले चालु आवमा फुसको घर विस्थापित गर्नका लागि ५ लाख बजेट विनियोजन गरेको थियो । त्यहि बजेट भित्रबाट वडाले २१ बन्डल जस्तापाता खरिद गरेर १० घरपरिवारलाई वितरण गरेको हो ।

वडाभित्र रहेका गरिब, दलित र विपन्न घरपरिवारको तयाङ्क संकलन गरेर वडाले अति विपन्न, दलित र गरिब परिवारलाई पहिलो चरणमा जस्तापाता वितरण गरेको छ ।

वडाभित्र रहेका १२ गाउँका झण्डै एक सय घर फुसका छन् । आर्थिक स्तर अति न्यून भएकाहरुलाई पहिलो प्राथमिकता दिएर शुक्रबार जस्तापाता वितरण गरिएको वडा अध्यक्ष तेज बहादुर बस्नेतले बताए ।

बाँकी फुसका घर भएकाहरुलाई आगामी आर्थिक बर्षमा जस्तापाता वितरणको कार्यक्रम राख्ने वडा अध्यक्ष बस्नेतले बताए । आफ्नो कार्यकालमा वडाभित्रका कुनै पनि घर फुसका नहुने उहाँले दाबी गरे ।

‘फुसका छाना भएका घरपरिवार एक सय हुनुहुन्छ सबैलाई यसै बर्ष जस्तापाता दिन बजेटले पुग्दैन् वडाध्यक्ष बस्नेतले भने आगामी बर्ष पनि कार्यक्रमलाई निरन्तरता दिइन्छ ।’

कार्यक्रममा वोलदै नगर प्रमुख केशव कुमार श्रेष्ठले यस वर्ष वडा तथा नगरपालिकामा बजेट वितरण गरी फुसको घर हटाउने अभियान थालिएको र आगामी वर्षको योजनामा समेत यसलाई निरन्तरता दिने बताए । धनी र सम्पन्न वर्गले ढलाई गरेर घर बनाएका छन् ।

तर गरिवहरुको जस्तापाता किने पैसा पनी नभएकोले त्यस्ता गरिव जनतालाई जस्ता पाता प्रदान गरी घर निर्माणमा सहजता दिने श्रेष्ठले बताए । नगरपालिका गरिव दुःखी र विपन्न समुदायको घर घरमा पुगेर यस्ता कामहरुलाई निरन्तरता दिने समेत श्रेष्ठले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ