कपिलवस्तु, १० असार । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले घोषणा गरेको नेपाल बन्दमा कपिलवस्तु जिल्ला पूर्णरुपमा बन्द भएको छ ।
नेता तथा कार्यकर्ता बाटोमा नभए पनि सार्वजनिक यातायात चलेका छैनन् । सर्लाहीमा आफ्नो पार्टीका जिल्ला इन्चार्ज कुमार पौडेल मारिएको विरोधमा गरिएको नेपाल बन्दको यस क्षेत्रमा प्रभाव परेको छ ।
नेपाल बन्दको प्रदेश नं. ५ मा आंशिक प्रभाव परेको छ । विप्लव समूहको सामान्य बाहुल्यता रहेका जिल्लाहरु कपिलवस्तु, रोल्पा, दाङ, नवलपरासी, रुपन्देही, प्युठान, गूल्मी, पाल्पा लगायतका जिल्लाहरुमा विहानैबाट बन्दको प्रभाव परेको छ ।
बन्दका कारण मंगलबार विहानबाट सुरु हुने शिक्षण संस्था खुलेका छैनन् भने लामो तथा छोटो दुरीका सवारी साधन चलेका छैनन् ।
बजार पनि सुनसान छ । बन्दकर्ताहरुले बन्दको अवज्ञा गर्नेमाथि जे पनि हुन सक्ने भन्दै चेतावनी दिएपछि त्रासै–त्रासले चौतर्फी बन्दको प्रभाव परेको हो ।
बन्दबाट क्षति नहोस् भन्नका लागि चोक चोकमा सुरक्षाकर्मीहरु खटाइएको छ । सर्लाहीको लालबन्दीमा दोहोरो गोली हानाहानमा पौडेलको मृत्यु भएको प्रहरीले बताउदै आएको छ भने विप्लवको पार्टीले पार्टीका अन्य कार्यकर्ताहरुसँग बसेर छलफल गरिरहेका बखत प्रहरीले अचानक गोली प्रहार गरेको बताउदै आएको छ ।
पार्टीका महासचिव विप्लवले एक विज्ञप्ति जारी गरी सरकारले देशभर बर्बरतापूर्वक हत्या अभियान सञ्चालन गरेकोले त्यसका विरुद्ध नेपाल बन्दलगायत सङ्घर्षका कार्यक्रम सार्वजनिक गरेको बताएका छन् ।
तपाईको प्रतिक्रिया