बुद्धभूमिमा किसानलाई बोयरका २२ बोका वितरण

समाचार

6/4/2019

कपिलवस्तु, २१ जेठ । बुद्धभूमि नगरपालिकाले किसान समूह तथा फर्महरुमा नश्ल सुधारका लागि २२ वटा बोका वितरण गरिएको छ ।

५० प्रतिशत बोयर जातको बाख्रामा हुनु पर्ने गुण भएको बोका खरिद गरी पशु सेवा शाखाबाट वितरण गरिएको छ । जिल्लाको उत्तरी तथा चरन क्षेत्रमा उन्नत रुपले बाख्रापालन गरेका किसानहरुका लागि नश्ल सुधार गरी थप उत्पादन बढाउन बोका वितरण गरिएको नगर प्रमुख केशव कुमार श्रेष्ठले बताए ।

नगरपालिकाले किसानहरुका लागि सूचना प्रकाशित गरी मागमा आधारित निवेदनको आधारमा २२ जना किसानहरुका लागि वितरण गरिएको श्रेष्ठले बताए ।

सो अवसरमा नगर उपप्रमुख मिरा थारुले अनुदानमा प्राप्त बोकाबाट उत्पादन दिने र त्यसको राम्रोसँग पालन पोषण गर्नु पर्ने बताइन् । १० लाखको योजनामा सूचना प्रकाशन र टेण्डरको आधारमा किसानहरुको आयस्तर बृद्धि गर्नका लागि बोका तिरण कार्यक्रम गरिएको प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्याले बताए ।

बोकाको हेरचाह र रोग बारेमा किसानहरुलाई थप तालिम दिइने पशु विकास अधिकृत लक्ष्मण लाल श्रीवास्तवले बताए । बोका पाएपछि आफ्नो घरका बाख्रा तथा समुदायका अन्य किसानहरुका लागि नश्ल सुधार र उत्पादनमा सहयोग मिलेको बुद्धभूमि १ की मिना केसीले बताइन् ।

त्यस्तै वडा नं ९ का किसान चुरामणि पोख्रेलले १ सय बढी बाख्रा पाल्दै आएकोमा नयाँ प्राप्त वोयर जातको बाख्राबाट नश्ल सुधार भइ उत्पादन हुनेमा आशावादी रहेको बताए ।

सो अवसरमा वडा अध्यक्ष पवन कुमार थारु, साना किसान सहकारीका पदम खनाल पशु शाखाका खिमबहादुर टण्डन, भोजराज पाण्डेय लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ