विराटनगर, १२ माघ । कार्यक्षेत्रमा सुरक्षा, इन्धन–ऊर्जाको मितव्ययिता, वातावरणमा कम असर पार्ने खालका गतिविधि अपनाउँदा औद्योगिक उत्पादनको लागत घट्ने र जोखिम कम हुने बताइएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्वर १ र वातावरण तथा आर्थिक विकास समाज (सिड) नेपालले आयोजना गरेको कार्यक्रममा सहभागीले सो विपचार बताएका छन् । उद्योगलाई सुरक्षित र वातावरणमैत्री बनाउनका लागि सिडले सञ्चालन गरेको साधन दक्षता, स्वच्छ उत्पादन कार्यक्रममा सहभागी भएका उद्योगहरुले वातावरणमा हुने असर कम गर्दै कामदारको सुरक्षाको पक्ष पनि सुधार हुन सकेको बताएका थिए ।
आयोजक मध्येको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्वर १ का कार्यबाहक अध्यक्ष राजेन्द्र राउतले भवन तथा निर्माणमा प्रयोग गरिने धातुका सामान उत्पादन गर्ने उद्योगहरुमा उपयुक्त साधन, दक्ष जनशक्ति र स्वच्छ उत्पादनमा जोड दिन कार्यक्रम सञ्चालनमा रहेको बताए ।
कार्यक्रम मोरङ र सुनसरीका चारवटा उद्योगहरुमा लागू भएको उनले उल्लेख गरे । हुलास वायर, मैनावती स्टिल, पायोनियर इलेक्ट्रो केबल र पशुपति आइरनमा लागू भएको कार्यक्रम प्रभावकारी पाइएको राउतको भनाइ थियो । सम्बन्धित उद्योगहरुले परियोजनाअन्तर्गतको कार्यक्रम लागु गर्दा उपलब्धीमूलक भएको अनुभव गरेको उनले उल्लेख गरे ।
तपाईको प्रतिक्रिया