बेइजिङ्ग, ६ फागुन । चीनले युगुर मुस्लिम समुदायदका मानिसलाई दाह्री पालेको, पछ्यौरा ओढेको वा इन्टरनेट चलाएकै आधारमा डिटेन्सन सेन्टरमा बन्धक बनाएको खुलासा भएको छ ।
चीनले सयौँ हजार युगुर मुस्लिमलाई सामान्य भन्दा सामान्य व्यक्तिगत बानी व्यवहारका कारण बन्धक बनाएको नयाँ कागजातहरुले पुष्टि गरेको बिबिसीले उल्लेख गरेको छ ।
चीनका अधिकारीले युगुर समुदायका हरेक व्यक्तिको दैनिक गतिविधिमा मसिनो निगरानी गरेको देखिएको हो । कस्तो कपडा लगाउँछन्, दाह्री कत्तिको लामो पाल्छन्, कोसँग बोल्छन् या धार्मिक गतिविधिमा उनीहरुको संलग्नता या इन्टरनेटमा उनीहरुले के हेर्छन् भन्नेसम्मको निगरानी गर्ने गरेको देखिएको हो ।
चीनले युगुर जातिका मानिसलाई विपक्षी–अतिवादीको रुपमा राजनीतिक क्याम्पमा बन्धक बनाएर राखेको आरोप छ । युगुर स्वायत्त क्षेत्रलाई चीनले बिस्तारित नजरबन्द क्याम्पको रुपमा परिणत गरेको आरोप छ ।
युगुर जाति, विशेष गरी चीनको शिङ्गजियाङ्ग प्रान्तमा बसोबास गर्ने अल्पसंख्यक मुस्लिम समुदाय हो । यो प्रान्तको जनसंख्यामा युगुर जातिको हिस्सा ४५ प्रतिशत रहेको छ । शिङ्गजियाङ्ग उसको दक्षिणमा रहेको तिब्बत जस्तै स्वायत्त राज्य हो ।
तपाईको प्रतिक्रिया